विजयपुर । धरान–१० के रन प्रतियोगिताको रुट परिवर्तन गरिएको छ ।
धरान उपमहानगरले सुरु गरेको ‘वन वे’ अभियानलाई समर्थन गर्दै एघारौँ १० के रन प्रतियोगिताको रुट परिवर्तन गरिएको पत्रकार सम्मेलन गर्दै आयोजकले जनाएको छ । आयोजक धरान रन समूहका अध्यक्ष रमु राईका अनुसार प्रतियोगिता फागुन १३ गते हुँदैछ ।
प्रतियोगिताको नयाँ रुट पुतली लाइनबाट सुरु भई देशीलाइन, पुरानो बजार, पालिका बजार, पिण्डेश्वर मन्दिर, विजयपुर, रेडक्रस भवन, अमरहाट, जिरो पोइन्ट, जानकी चोक, स्वस्तिका चोक, मङ्गलबारे, रत्नचोक, बुद्धचोेक, दुर्गा चोक हुँदै पुतलीलाइनमा समाप्त हुनेछ । प्रतियोगितामा टाइमिङ चिपको प्रयोग गरिँदैछ ।
प्रतियोगितामा ३१ मिनेटभित्र आइपुग्ने पुरुष र ३४ मिनेटभित्र आइपुग्ने महिला नेपाली धावकधाविकालाई भारतको लण्डन म्याराथुन १० के रनमा सहभागी गराउने अध्यक्ष राईले बताए । उनका अनुसार प्रतियोगितामा केन्या, भारत, युके, हङ्कङ, कतार, मलेसियासहितका ३५ सय धावकधाविका सहभागी हुनेछन् ।
प्रतियोगितामा १३ वर्षमुनिका बालकालिकालाई ३ किमी दौड गराइनेछ । बालबालिकाको रुट पुतली लाइनबाट सुरु भई राँगा चोक, सैनिक भवन लाइन, सैनिक चोक हुँदै पुतली लाइनमा समापन हुनेछ ।
प्रतियोगितामा खुल्लातर्फ प्रथम, द्वितीय र तृतीयले क्रमशः ६० हजार, ४० हजार, ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । १३ र १६ वर्षमुनिका धावकधाविकाले क्रमशः ७ हजार, ५ हजार र ३ हजार प्राप्त गर्नेछन् । ह्वील चियर रेसलाई पनि विशेष पुरस्कार दिइने आयोजकले जनाएको छ । कार्यक्रममा दयाहाङ राई, सेफ सन्तोष साह र घुमन्ते समूह उपस्थित हुनेछन् ।