भद्रपुर । त्रिभुवन आर्मी फुटबल क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार मेची रङ्गशालामा भएको खेलमा पाहुना टोली ड्रुक ल्हायुल एफसी भुटानलाई २–० गोलले हराउँदै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीका जितेन्द्र कार्की र सुशान्त चौधरीले गोल गरे । खेलको तेस्रो मिनेटमै आर्मीले पाहुना टोली भुटानविरुद्ध गोल ग¥यो । पेनाल्टी एरियानजिकै आर्मीले पाएको फ्रिकिकको सदुपयोग गर्दै तेस्रो मिनेटमा जितेन्द्र कार्कीले गोल गरे ।
यस्तै खेलको ६४ औँ मिनेटमा आर्मीका सुशान्त चौधरीले अर्को गोल थपे । बारमा ठोक्किएर फर्किएको बललाई पेनाल्टी एरियामा रहेका चौधरीले गोल गरेका थिए । जितसँगै आर्मीले फाइनल प्रवेशका लागि शनिबार सङ्कटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
बिहीबारको म्यान अफ दी म्याच आर्मीका जितेन्द्र कार्की घोषित हुँदै नगद २० हजार पुरस्कार पाए । शुक्रबार विभागीय टोली एपिएफ फुटबल क्लब र काउवार्न बजार प्रगति सङ्घ, ढाका बङ्गलादेशबीच हुने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।