धरान । पत्रकार तथा समाजसेवी स्व.किसन राईलाई नेपाल सरकारले प्रदान गरेको जनसेवाश्री पदक उनकी श्रीमती शोभा मगर राईलाई हस्तान्तरण गरिएको छ ।
हङ्कङको नेपाली समुदायबीच पत्रकारिता र समाजसेवामार्फत् पु¥याएको योगदानको मूल्याङ्कन गर्दै नेपाल सरकारले २०७८ असोज ३ गते राईलाई पदक दिने घोषणा गरेको थियो । सो पदक २०७९ वैशाख १ गते प्रदान गर्ने घोषणा गरिएको थियो । तर, राईको २०७८ कात्तिक ७ गते ओखलढुङ्गाबाट धरान फर्किने क्रममा खोटाङ दुर्घटनामा निधन भएको थियो । त्यसपछि राईको उक्त पदक थाती रहेको थियो ।
राईकी श्रीमती शोभालाई गत मङ्गलबार काठमाडौंस्थित सिंहदरबारमा विभूषण शाखाका प्रमुख उपसचिव प्रेमप्रसाद दाहालले हस्तान्तरण गरेका हुन् । राईको निधन भएको झन्डै डेढ वर्षपछि पदक लिएकी श्रीमती शोभा भन्छिन्, ‘उहाँले हङ्कङमा रहेर गरेको सामाजिक कामको मूल्याङ्कन भएको छ । उहाँ नरहेपनि उहाँको योगदानलाई सम्झिने यो पदक हामी सबैको महत्वपूर्ण सम्पत्ति भएको छ ।’
पत्रकार तथा समाजसेवी राईलाई हङ्कङ सरकारले पनि सामाजिक कार्यका लागि सन् २०२० अक्टोबर १ मा अवार्ड प्रदान गरेको थियो । धरान–१५ का बासिन्दा राई लामो समयदेखि हङ्कङमा रहेर त्यहाँको नेपाली समाजको नेतृत्व गर्दै आएका थिए ।
नेपाल पत्रकार सङ्घ हङ्कङका अध्यक्ष रहेका राई एभरेष्ट मासिक पत्रिकाका सम्पादक तथा प्रकाशक थिए । त्यस्तै उनी जनजाति महासङ्घ हङ्कङ, किरात राई यायोक्खा हङ्कङ, एनआरएन हङ्कङलगायत सङ्घ– संस्थामा आबद्ध रहेर सामाजिक सेवामा सक्रिय थिए ।