सुनसरी । कोसी गाउँपालिकामा व्यवस्थापिका संसद्को अभ्यास गराइएको छ ।
युवा पुस्तालाई संसद् अभ्यास गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । वडा–वडा तहबाट युवाहरूलाई छनोट गर्दै कोसी गाउँपाीलकामा पहिलोपटक नमुना युवा संसद् कार्यक्रम आयोजना गरेको हो । युवाहरूको नेतृत्वमा सहभागिता, सुशासन र पारदर्शिता भन्ने नाराका साथ कोसी गाउँपाीलकाको सहयोग र जिल्ला युवापरिषद् सुनसरीको समन्वयमा साझेदारी नेपाल सुनसरीले आयोजना गरेको चारदिने उक्त कार्यक्रममा विभिन्न वडाका २४ जना युवायुवती सहभागी थिए ।
कोसी गाउँपालिकाका ८ वटै वडाबाट वडास्तरीय युवा क्लब गठन गरी हरेक वडाबाट सांसद् चयन गरी उनीहरूलाई तालिम दिएको हो । भविष्यमा युवाहरूले नै नेतृत्व गर्ने भएकोले त्यो क्षमताको जग निर्माण गर्ने उद्देश्यका साथ नमुना युवा संसद् अभ्यास कार्यक्रम सञ्चालन गरिएको कोसी गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अनिता यादवले बताइन् ।
कोसी गाउँपालिकामा नमुना संसद् अभ्यास गर्ने क्रममा भएको निर्वाचनबाट नमुना गाउँपालिका अध्यक्षमा निर्वाचित सुरजकुमार पोद्दारले कार्यक्रमबाट युवाको नेतृत्व विकास र क्षमता विकासमा योगदान गरेको बताए । पोद्दारले प्रमाण–पत्र ग्रहण गरेपछि भविष्यमा युवाहरूले गाउँपालिकामा असल नेतृत्व गर्ने आँट र जाँगर बढेर आएको बताए ।
निर्वाचनमा नमुना उपाध्यक्ष वन्दनाकुमारी मण्डलले कोसी गाउँपालिकामा चारदिने नमुना संसद् अभ्यास कार्यक्रमसँगै तालिम पाउँदा खुसी लागेको बताइन् । युवाहरूले शुक्रबारदेखी गाउँपालिकाको सभा हलमा गाउँसभा र युवा संसद्को अभ्यास गर्दै बर्खे र हिउँदे अधिवेशन तथा गाउँसभाको अभ्यास पनि गरेका थिए ।
अभ्यासका क्रममा मतदाता नामावली प्रकाशन, उम्मेदवारको मनोनयन दर्ता, दाबी विरोध र मनोनयन फिर्तालगायतका प्रक्रिया पूरा गरी सम्पन्न मतदानमा युवाहरूले उत्साहजनक सहभागिता जनाउँदै अध्यक्षमा पोद्दार र उपाध्यक्षमा वन्दनाकुमारी मण्डल र वडाध्यक्षहरू सुरज शर्मा, सम्झना यादव तथा लेखा समिति संयोजकमा वीरेन्द्र कामैत चयन गरेका थिए ।
अभ्यासमा समसामयिक राजनैतिक घटनाक्रम, विकास निर्माण, रोजगारी, युवा नीति निर्माण, सामाजिक विकृति र विसङ्गति, लागूपदार्थ दुव्र्यसनी, युवा सीप रोजगार, युवामा सूचना प्रविधिको पहुँच, युवा क्लबको क्षमता विकास, छुवाछूत तथा लैङ्गिक विभेद, दाइजोप्रथा, विद्यार्थीको सेवा सुविधा, युवा स्वरोजगार कार्यक्रम, साइवर क्राइम र यसको नियन्त्रण, प्रजनन् स्वास्थ्यलगायतका क्षेत्रमा सरकारको कामका बारेमा प्रशिक्षण दिएको थियो ।
महिलाहरूको उत्साहजनक सहभागिताले कोसी गाउँपालिकामा भविष्यमा युवाहरूले नेतृत्व गर्ने उत्साह आफूमा पलाएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष यादव बताउँछिन् । नेपालको संविधान २०७२ को विधिअनुसार नमुना संसद् कार्यक्रम आयोजना गर्दै युवाका समस्या, मुद्दा र सम्भावनाका विषयमा जानकारी गराइएको प्रशिक्षक रोशन रेग्मीले बताए ।
गाउँपालिकाभित्रका १६ वर्षदेखि २४ वर्ष उमेरका युवाहरूले गाउँपालिकाको गाउँसभादेखि देश चलाउने संसद् अभ्यास गर्ने अवसर पाएका थिए । सहभागीलाई प्रशिक्षक एवम् राष्ट्रिय युवा परिषद् सुनसरी अध्यक्ष रोशन रेग्मी, प्रशिक्षक विमल आचार्य, पत्रकार जयकृष्ण यादवले प्रशिक्षण दिएका थिए ।