धनकुटा । संखुवासभा जिल्लाको मुढेसन्सरेमा बुधबार सम्पन्न प्रदेश स्तरिय अन्तर नगरपालिका स्तरिय मेयर कप फुटवल प्रतियोगिता जितेर १ नम्वर प्रदेस मै प्रथम हुने धनकुटा नगरपालिकाको टिमलाई विहिवार एक समारोहको विच सम्मान गरिएको छ । 

धर्मदेवी नगरपालिकाले आयोजना गरेको अन्तर नगरपालिका स्तरिय फुटवल प्रतियोगितामा १ नम्वर प्रदेस मै धनकुटा नगरपालिकाको फुटवल टिम प्रथम भएको खुशियालीमा १ लाख नगद सहित खेलाडीहरुलाई खदा ओडाएर नगर प्रमुख चिन्तन तामाङले सम्मान गरेका हुन् । विजेता फुटवल टिमले संखुवासभा जिल्लामा गएर धनकुटा नगरपालिकाको नाम राख्न सफल भएको भन्दै नगर प्रमुख तामाङले नगद १ लाख सहित सम्मान गरेका हुन् ।

खेलाडीहरुलाई सम्मान गर्दै नगर प्रमुख तामाङले भने– ‘यस्ता खाले कार्यक्रमले खेलकुद क्षेत्रमा लागेको युवा खेलाडीहरुको लागि हौसला र उत्तप्रेरणाको विषय वन्न सक्नेछ ।’ आगामी दिनमा पनि फुटवलको क्षेत्रमा हुने विभिन्न प्रतियोगितामा राम्रो प्रतिभा देखाएर खेल्न प्रेरणा मिलोस भन्दै नगर प्रमुख तामाङले शुभकामना व्यक्त गरे । उनले भने– ‘खेलकुदको क्षेत्रमा नगरपालिकाले सक्दो सहयोग गर्दै आएको छ र आगामी दिनमा पनि गर्नेछ ।’

सो अवसरमा विजेता धनकुटा नगरपालिकाका फुटवल टिमका लिडर सुदिप उरावले संखुवासभाको मुढेसन्सरेमा जितेर ल्याएको ट्रफी धनकुटा नगर प्रमुख चिन्तन तामाङलाई हस्तान्तरण गरेका थिए । टिम लिडर उरावले धनकुटा नगरपािलकाका प्रमुख चिन्तन तामाङ सम्पुर्ण नगरवासीको अभिभावक भएकाले नगरपालिकाको नाममा भएको फुटवल प्रतियोगिताको ट्रफी हस्तान्तरण गरिएको वताए । ट्रफी हस्तान्तरण कार्यक्रममा प्रतियोगितामा सहभागी सम्पुर्ण खेलाडीहरु सहभागी भएका थिए ।