झापा । झापामा पहिलोपल्ट शिवसताक्षी नगरपालिकाले प्लास्टिकजन्य फोहोर जलाएर नष्ट गर्न अत्याधुनिक इन्सिनेरेटर उपकरण सञ्चालनमा ल्याएको छ ।

नगरको वडा नं. ७ मा दुई बिघा१८ कठ्ठा जग्गामा निर्माण गरिएको फोहोर व्यवस्थापन केन्द्रमा जडान गरिएको इन्सिनेरेटरको सफल परीक्षण भइसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले बताए । प्रतिघण्टा ३ सय केजी फोहोर जलाएर नष्ट गर्नसक्ने क्षमताको सो उपकरण दुई वर्षअघि नै खरिद गरेर नगरपालिका कार्यालयपरिसरमा राखिएको थियो । सो उपकरणले फलामबाहेक प्लास्टिकजन्य फोहोरलाई सुरक्षित रूपमा च्याम्बरभित्र जलाएर क्षणभरमै खरानीमा परिणत गरिदिन्छ ।

इन्सिनेरेटर खरिदमा एक करोड र व्यवस्थापन केन्द्र निर्माणमा दुई करोड खर्च भइसकेको जनाउँदै यस परियोजनाका लागि सम्पूर्ण संरचना निर्माण गर्न १२करोड लगानी हुने नगरप्रमुख मेगाहाब थोप्राले जानकारी दिए ।

फोहोर छुट्याउने च्याम्बर, गाडी पार्किबलगायत स्थल निर्माण गरेर एक महिनापछि फोहोर व्यवस्थापन केन्द्रलाई नियमित सञ्चालनमा ल्याइने उनले बताए । फोहोर व्यवस्थापन केन्द्रभित्र आकर्षक बगैँचा बनाउने नगरको योजना छ । झापामा १५ पालिकामध्ये इन्सिेनेरेटर भिœयाउने शिवसताक्षी पहिलो पालिका हो । फोहोर प्रशोधन केन्द्र सञ्चालनपछि नगरको फोहोर व्यवस्थान सहज हुने उनको भनाइ थियो ।

फोहोर प्रशोधन केन्द्रको व्यवस्थापनमा लाग्ने इन्धन, कर्मचारी र गाडीको व्यवस्थापनका लागि स्रोत जुटाउन नगरपालिकाले फोहोर उत्पादन हुने प्रकृति हेरी नगरवासीसँग न्यूनतम्शु ल्क असुल गर्ने जनाएको छ । घर, पसल र बजारबाट सङ्कलन गरिएको फोहोरलाई प्रशोधन केन्द्रसम्म ल्याउन खर्च लाग्ने हुँदा न्यूनतम् शुल्क लिने निर्णय गरिएको नगरप्रमुख थोप्राले बताए । इन्सिनेरेटर सञ्चालन गर्न विद्युत् र डिजेल इन्धन आवश्यक पर्छ । प्रतिकेजी फोहोर जलाउन औसत १२ रुपैयाँसम्म लागत पर्ने हुँदा यसको प्रयोग महँगो हुने देखिएको छ ।

उक्त उपकरणको क्षमताअनुसार शिवसताक्षी नगरभित्र फोहोर उत्पादन कम हुने भएकाले छिमेकी पालिकासँग सहकार्य आवश्यक रहेको प्रमुख प्रशासकीय अधिकृत राईले जानकारी दिए ।

'प्रतिघण्टा ३ सय केजी फोहोर जलाउने क्षमता उक्त उपकरणको छ, बजारक्षेत्र धेरै नभएका कारण शिवसताक्षी नगरभित्र त्यति धेरै फोहोर उत्पादन हुँदैन’ अधिकृत राईले भने, 'छिमेकी पालिकाकोसमेत फोहोर जलाउने व्यवस्था मिलाएर लागत शेयरिब गर्ने हाम्रो योजना छ ।’

झापामा दमक, बिर्तामोड र मेचीनगर नगरपालिकामा सबैभन्दा धेरै फोहोरमैला उत्पादन हुने गरेको छ । बिर्तामोड, कनकाई र अर्जुनधारा नगरपालिकाले कनकाईको जामुनखाडीमा फोहोरबाट जैविक ग्याँस र कम्पोष्ट मल बनाउने संयुक्त परियोजना निर्माण गरेका छन् । दमकले एकल प्रयासमा फोहोरबाट जैविक ग्याँस उत्पादन गर्न थालिसकेको छ भने मेचीनगरमा अहिलेसम्म खोला किनारमा जथाभावी फोहोर फ्याँक्ने गरिएको छ ।