इनरुवा । ब्लाष्ट दैनिकमा प्रकाशित समाचारको विषयलाई लिएर पिबी दियालीले हालेको मुद्दामा सुनसरी जिल्ला अदालतले दाबी नपुग्ने फैसला सुनाएको छ ।
पत्रिकामा प्रकाशित समाचारको विषयप्रति आपत्ति जनाउँदै दियालीले ब्लाष्टकर्मी अमर काफ्लेसहित प्रबन्ध निर्देशक तथा सम्पादक किशोरकुमार कार्कीको नाममा गाली बेइजती मुद्दा हालेका थिए । शारदा कार्कीसहितलाई प्रतिवादी बनाई पिबी दियाली भन्ने प्रेमबहादुर दियालीले गाली बेइजतीसम्बन्धी कसूरमा २०७८ पुष १६ गते मोरङ जिल्ला अदालत विराटनगरमा मुद्दा दर्ता गराएका थिए ।
दुहबीको दलित मुद्दाको घटनासँग जोडिएको विषयलाई लिएर पक्ष र विपक्षमा पत्रकार सम्मेलन आयोजना गरिँदा दियालीले आफ्नो विपक्षमा शारदा कार्कीको परिवारले आरोप लगाएको भन्दै गाली बेइजती मुद्दा हालेका थिए । पत्रकार सम्मेलनमा कार्की परिवारले छुवाछुत र कुटपिटको मुद्दा मिलाइदिन्छु भन्दै दियालीले रकम ‘बार्गेनिङ’ गरेको आरोप लगाएको थियो ।
सोही विषयलाई लिएर दियालीले आरोप लगाउने शारदासहितले आयोजना गरेको पत्रकार सम्मेलनको समाचार लेख्ने ब्लाष्ट दैनिकका इनरुवा संवाददाता अमर काफ्ले र प्रबन्ध निर्देशक तथा सम्पादक किशोरकुमार कार्कीलाई विपक्षी बनाएर मुद्दा हालेका थिए ।
घटना र प्रतिवादीहरू सबै सुनसरीको रहे पनि दियालीले मुद्दा भने मोरङ जिल्ला अदालतमा दर्ता गराएका थिए । उक्त मुद्दालाई मोरङ जिल्ला अदालतले मिलापत्रमार्फत् टुङ्ग्याउन मेलमिलापकर्ता खटाए पनि दियाली र शारदा कार्की पक्षबीच सहमति हुन सकेको थिएन । मिलापत्रका क्रममा दियालीले शारदा कार्कीको परिवारले आरोप फिर्ता लिनुपर्ने तर, आफूले आफ्नो गल्ती नस्वीकार्ने अडान राख्दा मुद्दा लम्बिन पुगेको थियो ।
त्यसपश्चात् भने मोरङ जिल्ला अदालतले मुद्दासँग सम्बन्धित मिसिलसहितका कागजात अन्तरजिल्ला कारण देखाउँदै छिनोफानोका लागि सुनसरी जिल्ला अदालत इनरुवा पठाएको थियो । २०७९ माघ ५ गते दर्ता भएको उक्त मुद्दा सुनसरी जिल्ला अदालतले दोस्रो पेशीमार्फत् टुङ्ग्याएको हो । सुनसरी जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले पिबी दियाली भन्ने प्रेमबहादुर दियाली वादी रहेको गाली बेइजतीसम्बन्धी मुद्दामा दाबी नपुग्ने भन्दै अन्तिम आदेश फैसला सुनाएको हो ।
दियाली सुनसरीका पत्रकारसमेत हुन् । दलित अधिकारका क्षेत्रमा आवाज उठाउने नेताका रूपमा आफूलाई चिनाउने दियालीले ब्लाष्टकर्मी र ब्लाष्ट दैनिकविरुद्ध मुद्दा हाल्नुको पछाडि व्यक्तिगत ‘इगो’ कारण रहेको स्वयम् मोरङ जिल्ला अदालतका मेलमिलापकर्तासमक्ष बताएका थिए ।
स्वयम् अग्रज पत्रकारसमेत रहेका दियाली पत्रकार र सञ्चारमाध्यमसँग जोडिएको विषयमा महासङ्घ र प्रेस काउन्सिललाई बेवास्ता गर्दै सोझै अदालत गएका थिए ।
अघिल्लो दिन ब्लाष्टमै दलितसम्बन्धी पत्रकार सम्मेलनको विषय प्रकाशित हुँदा विपक्षी उपर लगाइएको अरोपलाई गाली बेइजती नठानेका दियालीले उक्त समाचारको खण्डनमा अर्को पक्षले लगाएको आरोपलाई भने आफूउपर सुनियोजित गाली बेइजतीको आरोप लगाउँदै ब्लाष्टकर्मी र सम्पादकसहितका नाममा मुद्दा हालेका थिए । जसमा सुनसरी जिल्ला अदालतले फैसला सुनाएसँगै उनको दाबी झुटो रहेको ठहरसमेत भएको छ ।