विराटनगर । साविक विजेता प्रतिभा फुटबल क्लब गोलबजार सिरहा विराटनगरमा जारी तेस्रो संस्करणको मिल्स गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।

मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुटमिलको खेलमैदानमा जारी आइतबारको खेलमा द सेभेन युथ क्लब धनकुटालाई २–१ गोलले हराउँदै सिरहा सेमीफाइनलमा पुगेको हो ।

जितका लागि सिरहाका सिद्धार्थ लामा र विश्वास राईले गोल गरे । सान्त्वना गोल धनकुटाका सन्दीप लिम्बूले फर्काए । धनकुटाविरुद्ध सिरहाका खेलाडीले सुरुदेखि नै लगातार आक्रामक शैली अपनाए पनि पहिलो गोल गर्न २७ मिनेट कुर्नुपर्यो । उद्धव घलेले निकालेको क्रस पासलाई सिद्धार्थ लामाले गोल गरी सिरहालाई अग्रता दिलाए ।

खेलको पहिलो हाफमा सिरहा अब्बल रह्यो । दोस्रो हाफदेखि धनकुटाले सुधारिएको खेल पस्कियो । ४२ औं मिनेटमा धनकुटाका सन्दीप लिम्बूले गोल गरी खेल बराबरीमा ल्याए । सिद्धार्थ लामाले ५८ औं मिनेटमा हानेको बल क्रसबारमा लागेर बाहिरिँदा धनकुटाको सङ्कट टरेको थियो ।

६० औं मिनेटमा विश्वास राईले वान भर्सेस वानमा प्रहार गरेको बल पोष्टमाथिबाट बाहिरिँदा धनकुटाले अग्रता दोब्बर पार्ने अवसर गुमाएको थियो । थप गरिएको इन्जुरी समयको दुई मिनेटमा सिरहाका विश्वास राईले गोल गरी जित सुनिश्चत गरे । निर्णायक गोल गर्ने सिरहाका विश्वास राई म्यान अफ दी म्याच घोषित भए । आज (सोमबार) को खेल आयोजक साइनो स्पोटर््स क्लब रानी विराटनगर र सहलेस युवा क्लब सिरहाबीच हुँदै छ ।