धरान । नेपाल एक दिवसीय विश्वकपमा छनोट भएको छ । आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा युएईलाई डर्कवर्थ लुइस स्ट्रेन (डीएलएस) मेथडअनुसार ९ रनले पराजित गरेको हो ।
सामान्यतः मौसमलगायतका कारणले खेल रोकिएमा टिमहरूको रनरेटका आधारमा विजेता घोषित गरिन्छ । बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर युएईले ब्याटिङ गरेको थियो । जसमा युएईले ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय १० रन बनाएको थियो । ३ सय ११ को विशाल लक्ष्य लिएर मैदानमा उत्रिएको नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २ सय ६९ रन बनाउँदै गर्दा खेल रोकिएको थियो । डिएलएस मेथडका आधारमा नेपाललाई ९ रनले विजयी घोषणा गरिएको छ । अब नेपालले जिम्बाब्वेमा हुने विश्वकपमा खेल्न पाउने भएको छ । नेपालले युएईलाई जितेसँगै ४० अङ्कका साथ लिग टूको तेस्रो स्थानमा उक्लिएको छ ।
खेलमा युएईका आसिफ खानले कीर्तिमानी शतक बनाएका छन् । आसिफ र वृत्य अरविन्दको जोडीले अन्तिम ६ ओभरमा विष्फोटक ब्याटिङ गरेको थियो । उनीहरूले १ सय २ रन जोडेका थिए । त्यसक्रममा आसिफले ४१ बलमा शतक पूरा गरेका थिए । थोरै बलमा शतक पूरा गरेका उनले एशोसिएटसट ब्याट्सम्यानको कीर्तिमान बनाउँदै उनी १ सय १ रनमा अविजित रहे ।
अरविन्द भने शतकको नजिक पुगे पनि अन्तिम बलमा आउट भएका थिए । उनले ९४ रन बनाएका थिए । नेपालको सुरुवात निकै खराब रहे पनि बीचमा आएर सम्हालिएको थियो । पहिलो ओभरमै आरिफ शेखले कुनै स्कोर नगरी आउट भएका थिए । त्यस्तै कुशल मल्ल ५ रन र कप्तान रोहित पौडेल पनि व्यक्तिगत १६ रनमै आउट भएका थिए ।
खेलमा पर्याप्त प्रकाश नभएका कारण अम्पायरले खेल रोकेका थिए । नेपालका लागि कुशल भुर्तेल, आरिफ शेख, भीम सार्की र गुलशन झाले अर्धशतकीय इनिङ खेले । कुशलले ५० रन बनाए भने आरिफले ५२ रन तथा भीमले ६७ रनको योगदान दिए । गुलशन ५० रनमा अविजित रहे ।
त्यसैगरी कप्तान रोहित पौडेल १६ रनमा आउट हुँदा कुशल मल्लले पाँच रन जोडे । दीपेन्द्रसिंह ऐरी १० रनमा अविजित रहे । युएईका जुनेद सिद्दिकीले तीन विकेट लिए । त्यस्तै आयान अफजल खानले दुई तथा जाहोर खानले एक विकेट झारे । नेपालका दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए । ललित राजवंशी, सन्दीप लामिछाने र सोमपाल कामीले समान एक–एक लिए ।