विजयपुर । छुवाछुतमुक्त समाज निर्माण गर्ने उद्देश्यले खोटाङको खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीमा सहभोज कार्यक्रम गरिएको छ ।
सोमबार लिकुवापोखरीमा दलित र गैरदलितको सहभोज कार्यक्रम गरिएको हो । खोटेहाङ–१ वडाकार्यालय लिकुवापोखरी र राष्ट्रिय दलित समाज कल्याण सङ्घ लिकुवापोखरीको संयुक्त आयोजनामा सहभोज कार्यक्रम गरिएको हो ।
सङ्घका खोटेहाङका सचिव युवराज कालीकोटेले दलित समुदायले छोएको खान हुँदैन भन्ने अन्धविश्वास तोड्नका लागि कार्यक्रम गरेको बताए । उनले मुलुकमा जातीय भेदभावविरुद्धका कानून बने पनि कार्यान्वयन पक्ष फितलो भएको बताउँदै भने, ‘मानवको कुनै जात हुँदैन, सबै मानव एकै हुन् ।’
कार्यक्रममा गाउँपालिका अध्यक्ष उदिमबहादुर राई, उपाध्यक्ष रूपेश राई, प्रमुख प्रशासकीय अधिकृत अजम्बर राईसहित १ सय ५० जना सहभागिता रहेको सङ्घका अध्यक्ष कृष्णबहादुर विकले जानकारी दिए ।
यस्तै कार्यक्रममा पञ्चेबाजा पनि हस्तान्तरण गरिएको छ । लोपोन्मुख पञ्चेबाजा संरक्षणका लागि नेपाल समाज कल्याण सङ्घलाई बाजा हस्तान्तरण गरिएको हो । अध्यक्ष राईले पञ्चेबाजा हस्तान्तरण गरेका हुन् । सङ्घका गाउँपालिका सचिव युवराज कालीकोटेका अनुसार चालु आर्थिक वर्षको सामाजिक विकास अन्तर्गतको १ लाख ८० हजार रुपैयाँ बजेटमा दुवै कार्यक्रम गरिएको हो । सङ्घले पञ्चेबाजा संरक्षणका लागि गैरदलितलाई तालिम दिने बताएको छ ।