विजयपुर । धरानमा मङ्गलबार सम्पन्न ब्याडमिन्टन प्रतियोगितामा भूपू समिति धरानका धनजित राई विजेता भएका छन् ।

भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय (पिपिओ) धरानको आयोजनामा भएको प्रतिस्पर्धामा ६० वर्षमाथिको सिङ्गलतर्फ राई विजेता बनेको सुवेदार अनररी क्याप्टेन कृष्णबहादुर थापाले जानकारी दिए । उनका अनुसार ६० वर्षमाथिको सिङ्गलतर्फ धरान भूपू समितिका रामकुमार राई फस्ट रनर अप भएका थिए ।

६० वर्षमाथिको डबल्सतर्फ धरान समितिका देउबहादुुर राई र पदमबहादुर लिम्बू विजेता बनेका छन् भने धरान समितिकै डम्बरकुमार लिम्बू र कृतिमान राई फस्ट रनर अप भएका छन् । ५०–६० वर्ष डबल्सतर्फ इलाम भूपू समितिका दिलबहादुर कन्दङ्वा र नारायणप्रसाद लिम्बू विजेता बनेका हुन् । खम्बसिंह लिम्बू र दिलबहादुर लिम्बू उपविजेता भएका छन् ।

अण्डर ५० डबल्सतर्फ भूपू समिति इलामका यामबहादुर लिम्बू र तेजकुमार श्रेष्ठ विजेता बनेका थिए । पिपिओ धरान समितिका तेजकुमार तेन्युङ र विजयकुमार राई उपविजेता बनेका थिए । महिला डबल्सतर्फ धनकुटा भूपू समितिका इन्दिरा राई र सीतादेवी राई विजेता भएका थिए । इलाका भूपू समितिका रामकुमारी राई र ललिता राई उपविजेता बनेका थिए । प्रतियोगितामा मेन्सतर्फ प्रेमबहादुर राई र वुमेन्सतर्फ ललिता राई बेस्ट प्लेयर बनेका थिए ।

भारतीय स्वतन्त्रता दिवसको अवसरमा इन्टर भूपू समिति ब्याडमिन्टन प्रतियोगिता १० देखि ११ अगष्ट २०२३ सम्म सञ्चालन गरेको थियो । प्रतियोगितामा पूर्वाञ्चलका १२ वटा भूपू समितीहरू र पिपिओबाट १ टिमसहित कुल ७४ टिम सहभागी भएका थिए । ६० वर्षभन्दा माथिको सिङ्गल, ६० वर्षभन्दा माथिको डबल्स, ६० वर्षभन्दा मुनी ५० वर्ष भन्दामाथिको डबल्स तथा ५० वर्ष भन्दामुनीको डबल्स गरी ४ क्याटेगोरीमा खेलहरू भएको पिपिए धरानका सेक्रेटरी सुपरभाइजर चन्द्रबहादुर राईले बताए ।

प्रतियोगिताका विजेता, उपविजेतालाई भारतीय राजदुतावास पेन्सन वितरण कार्यालयका प्रभारी अधिकारी मेजर भरत कनोजियाले मेडल तथा नगद पुरस्कार प्रदान गरे । कार्यक्रममा  सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भारतीय सेनामा रोजगारीले नेपालको आर्थिक सहयोग भएको बताइन् । कार्यक्रममा वीरगति प्राप्त गरेका वीरहरूका श्रीमतीहरू (वीरनारीहरू) ५ जनालाई ब्ल्याङ्केट प्रदान गरिएको थियो ।

कार्यक्रममा डेङ्गु र आँखा पाक्ने रोगको औषधि धरान–१३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेलाई प्रदान गरिएको थियो । कार्यक्रममा एआइजी किशोर श्रेष्ठ, एसएसपी मनोज यादव, धरान–१३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्ललगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा दिल्ली पब्लिक स्कुल र नेपाल प्रहरी स्कुलका विद्यार्थीहरूले आ–आफ्ना विभिन्न प्रतिभाहरू प्रस्तुत गरेका थिए ।