संविधान सभाका अध्यक्ष, नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता दिवंगत सुवासचन्द्र नेम्बाङले धरानमा दिएको मन्तव्य नै उनको जीवनको अन्तिम मन्तव्य बन्न पुग्यो । 

भदौ २३ गते धरानमा राष्ट्रिय युवा संघ नेपालको प्रथम अधिवेशनको उद्घाटन गर्न आएका बेला नेम्वाङले धरानका अनुभूतिदेखि संसदको गतिविधिसम्मको चासो र चिन्ता व्यक्त गरे । 

***

‘वास्तवमा मलाई सम्झना आउँछ, जब म ०२९–३० सालतिर अब साइन्स पढ्ने होइन, इन्जिनियर बन्ने होइन । त्रिचन्द्र कलेजबाट आइएस्सी पास गरेपछि इन्जिनियर नबनीकन  अब चाहिं वकिल बन्नुपर्यो भनेर बिए पढ्न इलाम आफ्नो घर आएँ । मलाई झल्झली सम्झना छ, ०२९–३० सालतिर । इलाम बहुमुखी क्याम्पसमा भर्ना भएर ०२९–३० सालतिर स्वतन्त्र विद्यार्थी युनियनको सभापति अखिलको सभापतिको  रुपमा मैले लडेर जितें । मलाई अहिले पनि झल्झली सम्झना छ । त्यतिबेला  गरेको काम मलाई अहिले पनि सम्झना छ । अब हामीले यी हाम्रा वरिपरिका विभिन्न जिल्लाका जानुपर्छ  है भनेर मेरो नेतृत्वमा विद्यार्थीहरुको टोली इलामबाट हिंड्यो । 

झापा हुँदै धरान हुँदै धनकुटा, तेह्रथुम, फिदिम हुँदै इलाम पुगेको मलाई सम्झना छ । दुःखद घटनाहरु रहे । पछि थाहा भो हामी बाटोमा हुँदा हाम्रा झापाका आदरणीय सहिदहरु लाई क्रुरतापूर्वक हत्या गर्ने काम त्यही दिन भएको रहेछ । हामीलाई प्रहरीले दुई घण्टा जति  सहादत भएको स्थानमा रोकेको मलाई झल्झली सम्झना छ । पछिमात्र थाहा पायौं के भएको रहेछ भनेर । त्यतिबेला धरानको प्रसंग चाहिं मैले यस कारण मैले तपाईंहरुको अगाडि राख्न खोजेको – धरान भनेपछि हामीलाई एक प्रकारको फुर्ती आउँथ्यो । तातो लाग्थ्यो । जोस आउँथ्यो । त्यसैले हामीले यो हाम्रो कार्यक्रममा धरान पुग्नै पर्छ, ठानेका थियौं । र, हामी धरान बसेको मलाई हिजोअस्तिजस्तो लाग्छ ।

०२९–३० सालमा । म स्ववियु सभापतिको नेतृत्वमा आएको टोली धरान बसेका थियौं । धरानबाट धनकुटा हुँदै सबै हामी हिंडेको मलाई सम्झना छ । धरानमा त्यतिबेलाका साथीभाइहरुसँग भेटघाट गरेको, छलफल गरेको मलाई हिजोअस्तिजस्तो लाग्छ । धरानप्रतिको त्यो थ्यो हाम्रो विश्वास । यो बीचको अवधिमा हामी अगाडि बढ्यौ कि पछाडि झर्यौं । त्यो अहिले बेला छैन । यहाँले छलफल गर्ने कुरा हो । तपाईं हामी सबैले छलफल गर्ने कुरा हो । र, एउटा निश्कर्षमा पुग्ने कुरा हो । तर मलाई विश्वास छ । यस पटकको युवा संघको यो प्रदेशको अधिवेशन यहाँहरुले भव्यरुपमा यहाँ आयोजना गर्नुभो । यहाँ जुन ढंगले यहाँहरु जम्मा हुनुभो । जुन ढंगले यो समारोह भव्यतापूर्वक उद्घाटन भयो मलाई लाग्छ धरान आफ्नो त्यो पुरानै स्थिति प्राप्त गर्ने दिशातर्फ अगाडि बढेको छ भन्ने मलाई विश्वास छ ।’

***

उनले आफ्नो राजनीतिक जीवनमा मुलुकलाई संघीय गणतन्त्र नेपालको संविधान दिन सकेको बताएका थिए । नेम्वाङले एमाले पहिचानवादी पार्टी भएको बताएका थिए । उनले एमालेकै पहलमा किरातका महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको बताएका थिए । उनले लोकतन्त्रको मूल्यमान्यतालाई बलियो बनाएर जानु नै देश र जनताको हितमा हुने बताएका थिए । 

‘संसद कसरी चलिरहेको छ सबैलाई थाहा छ । प्रमुख प्रतिपक्षीको हैसियतले संसद चलाउनका लागि काठमाडौं पुग्नुपर्छ । हामी जिम्मेवार प्रतिपक्षी भइनौं भने सत्तारुढ दलका साथीहरूले भन्नेछन् हेर्नुस् त प्रतिपक्षीले संसद चल्नै दिएन । यसैले पनि मैले त्यहाँ पुग्नैपर्ने छ । मलाई धेरै हतारो छ’, नेम्वाङले भनेका थिए ।

***

अब संविधान दिवस हाम्रो ढोकामा आइपुगेको छ । यो अवसरमा म यति कुरा कोट्याउन चाहन्छु । हामीले राम्रो संविधान बनायौँ । तपाईँहरूको आशीर्वादले, तपाईँहरूको शुभकामनाले, तपाईँहरूको मायाले दुवै पटक संविधान सभाको अध्यक्षता गर्ने, ३१ वटै राजनीतिक दलले सर्वसम्मतिले मलाई संविधान सभा अध्यक्ष बनाए । हाम्रो नेतृत्व, पहल र प्रयासमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशितासहितको समाजवादउन्मुख हामीले बनायौ र जारी ग¥यौँ ।

हामीले ढुक्कसँग, विनम्रतासँग, कुनै अहम् नराखीकन जनताको बीचमा यो कुरा भन्न सक्नुपर्छ । जनताले जनताका लागि बनाएको संविधान हो । संविधान पहिलो पटक नेपालको इतिहासमा विश्वकै सन्दर्भमा हामीले समावेशी संविधान बनायौँ । समावेशी संविधानसभाबाट शून्यबाट माथि उठ्दै सहभागितामूलक ढंगले जनताले जनताका लागि हामीले संविधान बनायौँ ।

नेपालको यो संविधान हाम्रो नेतृत्व, पहल र प्रयासमा जनताले बनाएको संविधान हो । तराई मधेसदेखि हिमालसम्मका जाति, भाषा, धर्म, संस्कृतिका जनतालाई देखाएर भन्नुस् यो लिम्बूले बनाएको संविधान, राईले बनाएको संविधान, यो ब्राह्मणले बनाएको संविधान, यो क्षेत्रीले बनाएको, दलितले बनाएको, महिलाले बनाएको, तराई मधेसदेखि हिमालसम्मका सबै जाति भाषा, धर्म संस्कृतिका जनताले बनाएको संविधान ।

संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता फेरि म दोहोर्याउँछु । पहिलो पटक नेपालको इतिहासमा समावेशी संविधान । अनि संविधान समावेशी बनाउने पार्टीलाई, संविधान समावेशी बनाउने पहिलो पटक नेपालको इतिहासमा त्यो पार्टीलाई तँ समावेशी भइनस् कोही मित्रले भन्छ भने तपाई हामीले त्यसलाई कसरी लिनुपर्छ होला ?

ढुक्कै भएर अगाडि बढ्नुस् कमरेडहरू, युवा मित्रहरू । यो देशको इतिहासमा मात्रै होइन, विश्वकै इतिहासमा यतिको समावेशी संविधान बनेको छैन । व्यवहारमा कार्यान्वयन गर्ने सन्दर्भमा, सम्बन्धित कानुन कहीँ कतै कमीकमजोरी भएका होलान् । ती कमीकमजोरी हामी सच्याउँछौ र अगाडि बढ्छौं भनेर अघि बढ्दा समावेशी संविधान बनाउने पार्टीलाई, त्यसका नेतालाई यो चाहिं समावेशी भएन भनेर कसैले चुनौती दिँदैमा हामीले निधार खुम्च्याउनुपर्ने हो र ? हामी त हाँसेर, ढुक्क भएर भन्नुपर्छ हामीले यति काम गरेका छौं लौ भन । म त भन्ने गर्छु न भूतो न भविष्यति ।

पहिचानको दुनियाँमा, समावेशिताको सन्दर्भमा यो देशमा हामीले जति काम गरेका छौं, त्यति अरू कसैले पनि गर्नुभएको छैन । कसैलाई मैले हेपेको होइन, हामीले मौका पायौँ, गरेर देखायौँ । भन्नुस् धर्मनिरपेक्षता कसले घोषणा ग¥यो ? धर्मनिरपेक्षता हामीले घोषणा ग¥यौं । जेठ ४ गते धर्मनिरपेक्षता घोषणा भयो, यहाँहरूको आशीर्वाद र शुभकामनाले ।

त्यो पुनस्थापित प्रतिनिधिसभाको मै सभामुख थिएँ । निर्विवाद र सर्वसम्मतिले म सभामुख थिएँ । त्यहाँबाट घोषणा भयो । कोही–कोही साथीभाइहरूले सुवासले खुसुक्कै धर्मनिरपेक्षता छिराइदियो पनि भने । म त्यतातिर जान चाहन्नँ ।

त्यस्ता केही साथीहरू हिजो अस्ति चुनावमा पनि पुगेका थिए । यो ताल त दक्षिणपट्टीबाट पनि केही साथीहरू आउनुभयो रे, यो धर्मनिरपेक्षता घुसाउने सुवासलाई हराउनुपर्छ भनेर । मलाई थाहा छैन म अलिक बिर्सने मान्छे । को साथीहरू हुन् ? के हुन् कसो हुन् ? कुनै दिन समय लिएर अलिक व्यापक रूपमा भनौंला यसबारेमा । म कहिले रिस नउठ्ने मान्छे । त्यसैले रिसाइनँ ।

तर अलिअलि रिस उठ्यो होला । जम्मै कुरा सुनाएर के भने त भन्दा, यी साथीहरू जसले ममाथि यस्तो आरोप लगाइरहेका छन् यिनीहरू... म त कम्युनिस्ट परेँ । एमालेको इमानदार कार्यकर्ता । मलाई त स्वर्ग नर्कमा विश्वास छैन । तर यी साथीहरू त विश्वास गर्छन् होला । नर्क छ भने यी साथीहरू चाहिं सोझै नर्क जान्छन् भन्दिएँ मैले । त्यति रिसाएको त भएन नि हैन ?

***

यस्तो छ, दिवंगत नेम्वाङको अन्तिम मन्तव्य ।