राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौँ शङ्खरापुर नगरपालिकास्थित शालीनदीमा जानु भई पूजा, अर्चना गरेका छन्। पौष शुक्ल पूर्णिमादेखि जारी श्री स्वस्थानी व्रत कथाअन्तर्गतको माधवनारायण मेलामा आज बिहान सहभागी भएका छन।

सो अवसरमा राष्ट्रपति पौडेलले श्री स्वस्थानी र माधवनारायणको दर्शन एवं पूजा अर्चना गरे। साथै उनले शालीनदीमा जल अभिषेक गरेका छन् । उनले बज्रयोगिनी मन्दिरमासमेत दर्शन एवं पूजा अर्चना गरेका छन्।नगरपालिका एवं काठमाडौँ क्षेत्र नं २ बाट निर्वाचित सांसद सोविता गौतमको निमन्त्रणामा साँखु पुग्नुभएका राष्ट्रपति पौडेलले प्राचीन, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रमा रहेको बज्रयोगिनी मन्दिरको दर्शन गर्न पाउनु आफ्ना लागि खुुसीको विषय भएको बताएका छन्। 

  बज्रयोगिनी मन्दिर पुग्नुहुँदा शङ्खरापुर–८ का वडाध्यक्ष पोते थिङ र वडा नं ४ का वडाध्यक्ष सुनबहादुर तामाङलगायत स्थानीयवासीले स्वागत गरेका  थियो। उनले भृकुटी र स्रङ्चङ् गम्पोसँगको ऐतिहासिक महत्व जोडिएको बज्रयोगिनी र धार्मिक एवं ऐतिहासिक महत्वको शालीनदी क्षेत्रको विकासका लागि राज्यले विशेष ध्यान दिने विश्वास व्यक्त गरे ।  

सो अवसरमा सांसद र नगरप्रमुख एवं उपप्रमुखलगायत जनप्रतिनिधिले धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वको क्षेत्र भए पनि शालीनदी क्षेत्रको विकास हुन नसकेको, पुनःनिर्माणका कामले गति लिन नसकेको र कतिपय विकासका काम अधुरै रहेको गुनासो गरेका छन्। उनिहरुले राष्ट्रप्रमुखको भ्रमणपछि पुनःनिर्माण र अन्य अधुरा विकासका कामले गति लिने विश्वास व्यक्त गरे।

सांसद गौतमले राष्ट्रपतिको उपस्थितिले शालीनदीको थप संरक्षण र व्यवस्थापनमा सरकारको ध्यान केन्द्रित हुने विश्वास व्यक्त गरेका छन्। “शालीनदी र माधवनारायण मन्दिर पौराणिक एवं धार्मिक हिसाबले महत्वपूर्ण भए तापनि ओझेलमा परेको छ”, उनले भने, “भूकम्पपछि धेरै मन्दिर निर्माणधीन अवस्थामा छन्, यसमा सहजीकरण हुने विश्वास लिएका छौँ ।”

शालीनदीको मेलामा हरेक वर्ष झण्डै ३० लाख धर्मावलम्बीले दर्शन गर्ने उनले बताए। राष्ट्रपति पौडेल शालीनदी पुग्नुहुँदा उनलाई सांसदद्वय गौतम र प्रतिमा गौतम, नवनिर्वाचित राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनी, नगर उपप्रमुख समिता श्रेष्ठ, माधवनारायण मेला व्यवस्थापन समितिका संयोजक बालकृष्ण श्रेष्ठलगायत स्थानीयवासीले स्वागत गरेका छन् ।