विजयपुर । धरान उपमहानगरपालिका–१६ का रामप्रसाद राईमाथि प्रेमका नाममा सम्पत्ति हडप्ने प्रपञ्च रचेको आरोप लागेको छ ।

धरान–१५ एभरेष्ट लाइनकी हर्कमाया लिम्बूनीको परिवारले पत्रकार सम्मेलन गरी प्रेमको नाममा सम्पत्ति हडप्ने प्रपञ्च रचेको आरोप लागेको हो । जेठी छोरी चन्द्रा लिम्बूले पत्रकार सम्मेलनमा बताएअनुसार २०७३ सालमा ३५ वर्षीय रामबहादुर राई आमाको घर निर्माण गर्नका लागि आइपुगेका थिए । ‘आमा त्यो बेला बहिनीसँग बस्नुहुन्थ्यो’–उनले भनिन् । घर निर्माणका क्रममा आउजाउ भएपश्चात् बहिनीसँग आरोपित रामले हिमचिम बढाए । चन्द्राले भनिन्, ‘आउनु जानु गर्दा बहिनीसँग नजिक भएछ । यही घरको ज्वाइँ हो भन्ने गरेको रहेछ । पारिवारिक सम्बन्ध बनाएछ । आमाले पनि कान्छो छोरो भन्नुहुन्थ्यो ।’

उनका अनुसार रामले बहिनीसँग प्रेमसम्बन्ध बढाई अन्ततः श्रीमतीका रूपमा पनि मौखिकरूपमा स्वीकार गर्दै आएका थिए । उनका अनुसार मोरङ साविक दुलारी ४ (ख) कि.नं.७७९ को क्षेत्रफल ८ कठ्ठा २ धुर आमाको नाममा पास गरिएको जग्गा २०७५ मङ्सिरमा रामप्रसादले जालसाजीमा रजिष्ट्रेशन पास गराएको देखिएको छ । उनले भनिन्, ‘त्यही जग्गा बैङ्कमा पनि राखेर कर्जा निकालेको पाइयो । आमा र बहिनीसँग भएको चलसम्पत्तिसमेत अपचलन गरी फरार भएको छ ।’

रामप्रसादको विभिन्न हर्कतका कारण मानसिक तनावमा परेर बहिनीलाई २०७६ असारमा प्यारालाइसिससम्म भएको चन्द्राले बताइन् । प्यारालाइसिस भएपछि रामप्रसादले उपचार गराउन हेलिकप्टरमार्फत् काठमाडौँ पनि लगेका थिए । ‘उपचार भइरहेको समयमा रामको मोबाइल हेर्दा अर्कै केटीसँग कुरा गरेको थाहा भयो’ चन्द्राले भनिन्, ‘हामीले बहिनी यस्तो अवस्थामा छ । तपाई अरूसँग बोल्नुहुन्छ भनेर करायौँ ।’

कराएपश्चात् भने रामप्रसाद टाढिँदै गएको थियो । सम्पत्ति हडप्नका लागि बहिनीको जीवनमाथि खेलवाड गरेको चन्द्राको आरोप छ । परिवारको व्यापक दबावपश्चात् उनले धरान–१८ वडा कार्यालयमा जग्गा फिर्ता गर्ने सहमति गरेका छन् । सहमति पत्रमा २०८१ जेठ २१ गतेभित्र फिर्ता गरिसक्ने उल्लेख छ । उक्त कागजी सहमतिमा रामप्रसादकी दिदीलगायत पाँचजना साक्षी बसेका छन् । जग्गा फिर्ता दिने तोकिएको मितिदेखि रामप्रसाद फोन स्वीचअफ गरी फरार रहेको विज्ञप्तिमा उल्लेख छ । यता रामप्रसाद राईलाई ब्लाष्टकर्मीले उनको नम्बरमा फोन गर्दा फोन सम्पर्क हुन सकेन ।

पीडित हर्कमाया लिम्बूनीले धरान–१६ मा निवेदन दिएकी थिइन् । धरान–१५ का वडाध्यक्ष नरेश इवारमले उक्त घटना विवरणसहितको निवेदन धरान–१५ मा पनि आएको बताए । उनले भने, ‘निवेदनपश्चात् रामलाई ३ पटक पत्र पठायौँ । उपस्थित भएन, एकदमै बदमास रहेछ ।’ तीन पटक पत्र पठाउँदा पनि उपस्थित नभएपछि इलाका प्रहरी कार्यालयलाई खोजतलास गरी उपस्थित गराउन निवेदन दिएपश्चात् प्रहरीको सहयोगमा समातेर धरान–१८ मा सहमति गरिएको उनले बताए । उनले भने, ‘धरान–१८ का अध्यक्ष नरेन्द्रकुमार राई, पूर्व जनप्रतिनिधिसहित छलफल गरेर ८५ लाखको सावाँब्याज तत्कालका लागि तिरिदिन र जग्गा फिर्ता गर्ने सहमति गरेर छाडेको मान्छे गायब भएछ ।’

सहमति गरेर छाडेको केही समयपछि रामप्रसादले प्रहरीमा करकापमा पारी सहमति गराएको भनेर मुद्दा हालेको पाइएको अध्यक्ष इवारमले बताए । वडाध्यक्ष इवारमले भने, ‘अनपढ हर्कमायाको छोरी पनि बिगारिदियो, जग्गा पनि लगेको छ ।’ इलाका प्रहरी कार्यालय धरानका डिएसपी मानबहादुर राईले रामप्रसाद राईको मुद्दाका विषयमा सामान्य जानकारी भए पनि छलफल गराएको विषय आफूलाई थाहा नभएको बताए ।

७३ वर्षीया हर्कमायाले भनिन्, ‘अरूका छोरीचेली पनि नफसुन् भनेर पत्रकार सम्मेलन गर्नुपरेको हो ।’ उनले विभिन्न प्रपञ्च गरी आफ्नो परिवार बर्बाद पारेकाले रामप्रसादका विरुद्ध पत्रकार सम्मेलन गर्न बाध्य भएको बताइन् ।