विराटनगर । मोरङको रङ्गेली नगरपालिकाका नगर प्रहरीलाई आक्रमण गरेको आरोपमा प्रहरीले ६ जना विद्यार्थीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रङ्गेली–६ का २३ वर्षीय दीपक यादव, २० वर्षीय राहुल यादव, रुकुम यादव, रङ्गेली–७ का १८ वर्षीय रमणकुमार राय, रङ्गेली–८ का १० वर्षीय विषेक झा र रङ्गेली–२ का मिलन मिश्र रहेका छन् । पक्राउ परेकाहरूको समूहले आक्रमण गर्दा ४ जना नगर प्रहरी घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । नगर प्रहरीहरू सुनिता पौडेल, प्रमोद पासवान, पदमबहादुर थापा र ज्योति घिमिरे सामान्य घाइते बताउँदै डिएसपी बस्नेतले भने, ‘नगर प्रहरीहरूको शरीरका विभिन्न भागमा चोटपटक लागेको र रङ्गेली अस्पतालमै उपचार भइरहेको छ ।’

पक्राउ परेको समूहले नगरपालिकाका कार्यवाहक प्रमुख एवम् रङ्गेली–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि दुव्र्यवहार गरेको डिएसपी बस्नेतले बताए । डिएसपी बस्नेतले भने, ‘६ जनाको समूहले कार्यकक्षभित्रै प्रवेश गरेर आचार्य र न्यौपानेलाई दुव्र्यवहार एवम् हातपात गर्दै नगर प्रहरीमाथि आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’

पक्राउ परेकाविरुद्ध अभद्र व्यवहार मुद्दामा ५ दिन म्याद थप गरी घटनाको थप अनुसन्धान अघि बढेको उनले बताए । पक्राउ परेको समूहले आफू विद्यार्थी रहेको र निजी विद्यालयहरूले आफूखुसी कानूनविपरीत शुल्क लिइरहेको तथा शिक्षक छनोटमा मनपरी गर्दै विद्यालयमा आफ्ना मान्छेलाई नियुक्ति दिलाएको भन्दै जेठ १३ गते नगरपालिकाको कार्यालयमा ज्ञापन–पत्र बुझाएको थियो ।

निजी विद्यालयले लिँदै गरेको शुल्क कम हुनुपर्ने र शिक्षक नियुक्ति नियमानुसार हुनुपर्ने माग राख्दै आन्दोलन थालेको विद्यार्थी समूहको नेतृत्व विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको नेपाल विद्यार्थी सङ्घका सदस्य दीपक यादवले गरेका थिए । रङ्गेलीको जनता बहुमुखी क्याम्पस र पब्लिक माध्यमिक विद्यालयका विद्यार्थीले बुधबार नगरपालिकाअगाडि नाराबाजी गरेका थिए ।

यादवको नेतृत्वमा ६ जना पुनः बिहीबार दिउँसो साढे ३ बजेतिर नगरपालिका पुगेर नाराबाजी गरे । त्यतिबेलै जबरजस्ती कार्यकक्षमा प्रवेश गरेर उनीहरूले कार्यवाहक प्रमुख र प्रमुख प्रशासकीय अधिकृतमाथि दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ । भीडलाई रोक्न खोज्दा नगर प्रहरीलाई समेत आक्रमण गर्दै उनी कार्यकक्षमा प्रवेश गरेको बताइएको छ ।

पक्राउ परेकाहरूलाई विना शर्त रिहाइ गर्नुपर्ने माग राख्दै विराटनगरको महेन्द्र मोरङका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । उनीहरूले कोशी राजमार्गअन्तर्गत विराटनगरको रोडशेष चोकमा केही समय सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए । पक्राउ परेका यादवसहितको टोलीलाई विना शर्त रिहाइ नगरे थप आन्दोलन गर्ने उनीहरूले बताएका छन् ।