धरान । धरान–२ स्थित लोकलक्ष्मी स्मृति प्रतिष्ठानले विभिन्न क्षेत्रमा योगदान पुर्याउने धरानका दुई व्यक्तित्वलाई शनिबार नगदसहितले सम्मानित गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष रन्जीव श्रेष्ठका अनुसार प्रतिष्ठानले स्वास्थ्य क्षेत्र र नगरको उन्नयनमा योगदान पु¥याउने दुई व्यक्तित्वलाई सम्मानित गरेको हो । प्रतिष्ठानले २०७९ सालबाट हरेक वर्ष एकजनालाई सम्मानित गर्ने पूर्वघोषित कार्यक्रमअनुसार नगरको उन्नयनमा अहोरात्र खटिएका पूर्व नगर उपप्रमुख स्वर्गीय कृष्णनारायण पलिखेलाई मरणोपरान्त सम्मानित गरिएको छ । अध्यक्ष श्रेष्ठले उनको परिवारलाई नगद ५१ हजार रुपैयाँसहित सम्मान–पत्र र दोसल्ला ओढाई सम्मानित गरिएको बताए ।

यस्तै २०८० सालमा भने स्वास्थ्य क्षेत्रमा योगदान दिने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. सञ्जीवकुमार शर्मालाई नगद ५१ हजार रुपैयाँसहित सम्मान–पत्र र दोसल्ला ओढाई सम्मानित गरिएको छ । उनीहरूलाई स्वर्गीय प्रोफेसर इन्द्रप्रसाद श्रेष्ठ र विमला श्रेष्ठ सम्मानबाट सम्मानित गरिएको हो । ‘बुबा इन्द्रप्रसादको अन्तिम इच्छाअनुसार नै परिवार मिलेर २०७९ मा सम्मानित गरिने घोषणा गरेका थियौँ’ उनले भने, ‘तर, पारिवारिक समस्याका कारणले हामीले २०७९ मा गर्न सकेनौँ । त्यसैकारण दुई वर्षको एकैपटक वितरण गरिएको हो ।’

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रन्जीव श्रेष्ठ, सचिव राजीव श्रेष्ठलगायतले नगदसहित सम्मान–पत्र प्रदान गरेका थिए । कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै सम्मानिततर्फबाट प्रा.डा. शर्माले भने, ‘मैले खासै केही गरेको होइन, केएचडिसीमार्फत् मुटु, मिर्गौला जोगाऔँ भन्ने उद्देश्यले केही काम गर्न खोजेको हो । सबै दाताहरूकै सहयोगबाट संस्था सञ्चालित भएको आज २१ वर्ष पुगेछ ।’

प्रतिष्ठानले आफूलाई योग्य सम्झिएकोमा संस्थाप्रति धन्यवाद ज्ञापन गरे । उनले हरेक मानिसले आहार, विहार, सोचाइजस्ता कुरामा ध्यान दिनसके सबै स्वस्थ हुनसक्ने बताए । उनले आफूले प्राप्त गरेको नगद पनि केएचडिसीमै अर्पित गर्ने पनि बताए ।

२०६४ सालमा स्थापित प्रतिष्ठानले शिक्षाक्षेत्रमा लगानी गर्दै आएको थियो । धरानका विभिन्न सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई पढाइदिँदै आएको थियो । कोरोनाकालको समयमा भने १ सय दिनसम्म सडक बालबालिकालाई खाना खुवाएको थियो ।