विराटनगर । मोरङको विराटनगर महानगरपालिका–५ बरगाछीस्थित लाइफगार्ड हस्पिटलका सञ्चालकसमेत रहेका युरोलोजिष्ट डा. इकबाल अहमदले शल्यक्रियाको नाममा बिरामीसँग मनलाग्दी रूपमा रकम लिएर ठगी गरेको घटना सामसुम पार्न अस्पताल लागिपरेको छ ।

डा. इकबालले मान्छे परिचालन गरेर पीडित व्यक्तिहरूको घरमा पुगेर विभिन्न आश्वासन र प्रलोभनमा पार्ने गरेको पाइएको छ । ब्लाष्टले ‘लाइफगार्डमा चिकित्सकको ठगी’ भनेर केही दिनअघि समाचार प्रकाशित गरेको थियो । त्यसपछि डा. इकबालले मान्छे परिचालन गरेर पीडितको घरमा घटना मिलाउनुप¥यो भन्दै मोरङको पथरीशनिश्चरे नगरपालिका–२ मा पुगेका छन् ।

‘एक पटक गल्ती भइहाल्यो । अब हुँदैन । अब मिल्नुपर्छ, कहाँ कतै उजुरी नगर्नू’ भन्दै डा. इकबालले पठाएको मान्छे पथरीमा आइपुगेका छन्’ पीडित पथरी–२ का भूपाल श्रेष्ठले भने, ‘तर, अहिलेसम्म मैलाई चाहिँ भेटेका छैनन् । अरू पीडितहरूलाई चाहिँ विभिन्न प्रलोभन देखाउँदै घरमा पुगेका छन् भन्ने सुनियो ।’ बिरामीलाई ठगी गर्ने डाक्टरलाई कारबाही हुनुपर्ने पक्षमा आफू रहेको उनले बताए । ‘स्वास्थ्य बिमा गरेर उपचारको लागि गएका बिरामी आर्थिकरूपमा पनि ठगिएका छन् । यसरी चिकित्सकले स्वास्थ्य बिमाबाट पनि रकम लिने र बिरामीबाट पनि लिने यो ठगी हो’ उनले फोनसम्पर्कमा भने, ‘यसरी बिरामी ठगी गर्ने चिकित्सकलाई कारबाहीको दायरामा ल्याउनु पर्दछ ।’

डा. इकबालले ठूलो रकम खर्चेर पीडित मिलाउन भन्दै पाँचजनाको समूहलाई शनिबार पथरी पठाएका स्रोतले जानकारी दिएको छ । उनीहरू दिनभरि पथरीमा बसेर पीडितलाई फकाउन लागिपरेका छन् । ‘पीडितले भनेको सम्पूर्ण डिमान्ड पूरा गर्ने तरिकाले डा. इकबाल लागिपरेका छन् । घटना मिलाउन कति खर्च गर्नुपर्छ, त्यो सबै पूरा गरिदिने भन्दै अहिले मान्छे परिचालन गरेर पीडितका घरमा पठाएका छन्’ स्रोतले फोनसम्पर्कमा भन्यो, ‘अहिले पनि एउटा टोली पथरीतिरै रहेको छ । उनीहरू उपचारमा भएको सम्पूर्ण खर्च फिर्ता दिने भन्दै पीडितको घर पुगेका हुन् ।’ पीडितलाई प्रहरी र स्वास्थ्य बिमा बोर्डमा उजुरी दिन नआउनको लागि दबाव दिएको बुझिएको छ । पीडितहरूले आइतबार विराटनगरको स्वास्थ्य बिमा बोर्ड र जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिने तयारी गरेका थिए ।

स्वास्थ्य बिमाबाट शल्यक्रियाको भुक्तानी लिएपछि पनि डा. इकबालले बिरामीसँग अप्रेसन थिएटरभित्र सहयोगी राखेर मनलाग्दी रकम असुली गर्ने गरेका थिए । डा. इकबालले इम्प्लान्टको नाममा बिरामीसँग शल्यक्रिया गरेपछि स्वास्थ्य बिमाका अलावा १५ देखि ४० हजार रुपैयाँसम्म नगद लिने गरेको बिरामीले बताएका छन् ।

२४ घण्टाभित्र जवाफ पेस गर्न पत्राचार
स्वास्थ्य बिमा बोर्ड कोशी प्रदेशले बिरामी ठगी गरेको विषयमा हस्पिटल र चिकित्सकलाई २४ घण्टाभित्र जवाफ पेस गर्न पत्रचार गरेको छ । स्वास्थ्य बिमा बोर्ड कोशी प्रदेशका प्रमुख अर्जुन पण्डितले हस्पिटललाई २४ घण्टाभित्र यथार्थ विवरण पेस गर्न माग गरेको बताए । ‘२४ घण्टाभित्र जवाफ पेस गर्न भनिएको छ । जवाफ फर्काएपछि सोहीअनुसार कारबाही अगाडि बढ्नेछ’–उनले फोनसम्पर्कमा भने । स्वास्थ्य बिमा बोर्डले आइतबार हस्पिटललाई पत्राचार गरेको उनले जानकारी दिए ।