धनकुटा । मनसुनको याम सुरु भएसँगै विपद्का घटना घट्ने सम्भावना भएकाले रोकथामका लागि धनकुटामा पूर्वाभ्यास गरिएको छ ।

धनकुटा नगरपालिका–९ मूलघाटस्थित विश्रान्ति मन्दिरनजिक तमोर नदीमा विपद्बाट (बच्न) वा जोगिनका लागि पूर्वतयारीको व्यावहारिक अभ्यास गरिएको हो । तीनै तहका सुरक्षाकर्मीले बाढीपहिरोमा परेकालाई उद्धार गर्ने, भीरबाट लड्दा उद्धार गर्नेदेखि सवारी दुर्घटना भएर मानिस नदीमा खस्दा उद्धार गर्ने तरिकाबारे प्रदर्शन गरिएको धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।

जिल्ला प्रशासन कार्यालय धनकुटाको संयोजनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्तरूपमा तमोर नदी र आसपासका घरमा व्यावहारिक अभ्यास गरेका हुन् ।

जिल्ला सुरक्षा समितिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी पौडेलले विपद्, प्रकोपका घटना हुन नदिन र भइहालेमा कसरी जोगिने भन्ने बारे व्यावहारिक अभ्यास गरेर सिकाइएको बताए । सुरक्षाकर्मीले आगलागीमा फसेकालाई उद्धार गर्नेदेखि नदीमा बगेको वस्तुलाई डोरी लगाएर बाहिर निकाल्ने र घाइतेलाई नदीबाट पार गराउने बारेमा व्यावहारिक अभ्यास गरिएको थियो ।