धरान । धरानको समर्पण अभियान नेपालले वराहक्षेत्र नगरपालिका १ चियाबारीस्थित सिंहदेवी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई झोला वितरण गरेको छ । 

अभियानका अध्यक्ष युनेश भण्डारीका अनुसार ‘प्रेम दिवस’को अवसरमा विभिन्न सामग्री बिक्री गरिएको नाफाबाट १९ जना विद्यार्थीहरूलाई झोला वितरण गरिएको हो । अभियानले उक्त कार्यक्रमलाई ‘भविष्य बोक्ने झोला’ भनी नामकरण गरेका छन् । अध्यक्षसहित उपाध्यक्षहरूसहित पुगेको टोलीले १८ हजार पाँच सय रुपैयाँ बराबरको झोलासहित शैक्षिक सामग्री पनि वितरण गरिएको उनले जानकारी दिए । 

उनका अनुसार किवानिस क्लब अफ इटहरीको सहकार्यमा स्कुल व्यवस्थापन समितिका अध्यक्ष गोपाल देवान राई र विद्यालयका प्रधानाध्यापक जीवन राईको प्रत्यक्ष उपस्थितिमा विद्यार्थीहरूलाई झोला र शैक्षिक सामग्री वितरण गरिएको हो । उनका अनुसार प्रेम दिवसको अवसरमा भानुचोक, महेन्द्र क्याम्पस, युएन कलेज, धरान आदर्शमा विभिन्न सामग्री बिक्री गरिएको थियो ।