धरान । नेपाल स्काउटको ७३ औँ स्थापना दिवसको अवसरमा स्थानीय स्काउट कार्यालय धरानको आयोजनामा मंगलबार सम्पन्न नगरस्तरीय अन्तर ट्रुप चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । 

प्रतियोगितामा सैनिक आवासीय महाविद्यालयकी छात्रा नामसाङ राई प्रथम भएकी छन् । त्यस्तै दोस्रो र तेस्रो युरेका आवासीय माविका छात्रा सिम्रन राई र निशान क्षेत्री भए । यस्तै सैनिक महाविद्यालयकै छात्र मिसन खड्काले सान्तवना स्थान प्राप्त गरे । 

a45fa804-1d67-45f7-b146-26347ee45c82

स्थानीय स्काउटका प्रमुख आयुक्त अनुप योन्जन तामाङको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा धरान उपमहानगरपालिकाका उपप्रमुख तथा नगरका प्रमुख स्काउट अइन्द्रवीक्रम बेघा रहेका थिए । विजेताहरूलाई प्रमुख अतिथि अइन्द्रवीक्रम बेघा, कोशी प्रदेशका प्रमुख आयुक्त हेमन्त भण्डारी, स्थानीय स्काउटका प्रमुख आयुक्त अनुप योन्जनलगायतले पुरस्कार वितरण गरे । 

कार्यक्रममा सहायक राष्ट्रिय प्रशिशक तथा नगर परिषद् सदस्य लक्ष्मण राई, सहायक राष्ट्रिय प्रशिक्षक तथा नगर परिषद् सदस्य वविता राईले कार्यक्रमको औचित्यबारे प्रष्टाएका थिए । धरानका १३ वटा विद्यालयहरू सहभागी रहेका थिए । विजेताहरूलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरेको कार्यक्रम सञ्चालक तथा धरान नगर कमिटीका शैक्षिक पद्धति आयुक्त मधुसूदन घिमिरेले जानकारी दिए ।