धरान/पब्लिक हाइ स्कुल धरान–१२ ले मिडियाकर्मीसँग अन्तरक्रिया सम्पन्न गरेको छ। सोमबार विद्यालयको पुस्तकालय हलमा सम्पन्न ‘शैक्षिक अभिवृद्धिका लागि मिडियाकर्मीसँग अन्तरक्रिया कार्यक्रम’ सम्पन्न भएको थियो।

विद्यार्थी सङ्ख्यासँगै गुणस्तर अभिवृद्धिका लागि विद्यालय प्रयत्नरत रहेको जानकारी गराउँदै विद्यालयको भावी योजना विद्यालयका प्रधानाध्यापक डा. इन्द्रमोहन झाले बताए। मिडियाकर्मीहरू समाजको सचेत वर्ग भएकाले मिडियाकर्मीहरूसँगको अन्तरक्रियाबाट आएको सुझाव विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि महŒवपूर्ण हुने बताए । अन्तरक्रिया कार्यक्रमको खुल्ला सत्रमा धरानका मिडियाहरूमा संलग्न मिडियाकर्मीहरूले विभिन्न जिज्ञासा र सुझाव राखेका थिए।  

नेपालको पुरानो सामुदायिक विद्यालयमध्ये पब्लिक हाइ स्कुलमा पूर्व प्राथमिक कक्षादेखि १२ कक्षासम्म अङ्ग्रेजी माध्यमबाट अध्यापन भैरहेको छ । विद्यालयमा व्यवस्थापन, शिक्षा, मानविकी, विज्ञान, इलेक्ट्रिकल, होटल मेनेजमेन्ट र ब्युटिसियन गरी जम्मा ७ वटा समूहमा अध्यापन भइरहेको छ। शिक्षा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको विद्यालयमा ३ हजार ४ सय ४९ जना विद्यार्थीहरू अध्ययनरत छन्।

कक्षा ११ मा कम्प्युटर विषय र कक्षा ९ मा ऐच्छिक गणित, ऐच्छिक विज्ञान विषय अध्ययन अध्ययापन हुने गरेको छ । सामुदायिक विद्यालयहरू खाडी मुलुक जाने र निजी विद्यालयहरू युरोपियन मुलुक जाने जनशक्ति उत्पादन गर्ने केन्द्रको रूपमा रहेको औंल्याउँदै अब विद्यालय भनेका देशका लागि आवश्यक नागरिक उत्पादन गर्ने केन्द्रको रूपमा विकास गर्नुपर्ने विशेष अतिथि प्रदेश योजना आयोगका सदस्य भवानी बरालले बताए ।

IMG20240624103318

कार्यक्रममा सहभागी मिडियाकर्मीहरूलाई स्वागत गर्दै विभिन्न दृष्टिकोणले पब्लिक हाइ स्कुल नमुना विद्यालयको रूपमा स्थापित हुँदै गएको सहायक प्रधानाध्यापक लेखनाथ भट्टराईले जानकारी गराए। विद्यालय नेपाल सरकारको नमुना विद्यालयको रूपमा रहेको, विज्ञान (भौतिक, रसायन र जीव) विषय प्रवर्धनका लागि सरकारले छनौट गरेको साथै नेपालको विद्यार्थी सङ्ख्याको दृष्टिकोणले पनि बिग स्कुलमा परेको समेत भट्टराईले जानकारी गराए ।

शिक्षक अभिभावक सङ्घका अध्यक्ष राजेन्द्रकुमार राईले विद्यालयको प्रगतिमा शिक्षक, अभिभावक र विद्यार्थीहरूलाई केन्द्रमा राखेर सबै पक्ष मिलेर काम गरिरहेको बताए। कार्यक्रम सञ्चालनको क्रममा विद्यालयमा विद्यार्थीको सङ्ख्या ठूलो भए पनि पूर्व प्राथमिक, प्राथमिक, माध्यमिक र साइन्स तथा इलेक्ट्रिकल समूहमा विभाजन गरेर शैक्षिक गतिविधिहरू सञ्चालन गरिरहेकोले प्रत्येक विद्यार्थीको व्यक्तिगतरूपमा निगरानी हुने हुँदा शैक्षिक गुणस्तरमा सहयोग पुगिरहेको साइन्स तथा इलेक्ट्रिकल इन्चार्ज मोहन श्रेष्ठले बताए ।

विद्यालयको समग्र विकासमा व्यवस्थापन समितिले खेल्नुपर्ने भूमिकामा आपूmहरूले कुनै पनि कमी हुन नदिएको र सबैको साथ सहयोग र सहभागितामा विद्यालय सञ्चालन गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर कार्कीले बताए। कार्यक्रममा विद्यालयका एकाडेमिक इन्चार्ज वीरेन्द्रबहादुर साह, वरिष्ठ पत्रकार हर्ष सुब्बालगायत शिक्षक, कर्मचारीहरूको पनि सक्रिय सहभागिता रहेको थियो ।