धनकुटा । अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर पर्यटकीयस्थल भेडेटारमा तीन दिने खाना महोत्सव मङ्गलबारदेखि सुरु भएको छ ।
एक समारोहका बीच कोशी प्र्रदेश सरकारका पर्यटन, वन, वातावरण मन्त्री सदानन्द मण्डलले तीन दिने खाना महोत्सवको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मण्डलले कोशी प्रदेशको मुख्य पर्यटकीय केन्द्र रहेको भेडेटारलाई विकास गर्न प्रदेश सरकारले विशेष योजना अघि सारेको बताए । उनले भेडेटारमा पर्यटन पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले पहल गर्ने बताए । त्यसको साथै उनले साँगुरीगढी गाउँपालिकाका विभिन्न वडामा रहेका सामुदायिक होम–स्टेलाई थप पर्यटनमैत्री बनाउन प्रदेश सरकारले सहयोग गर्ने बताए ।
मन्त्री मण्डलले भने, ‘हामीसँग बेच्नको लागि प्रमुख कुरा पर्यटन छ, पर्यटनसँग संस्कृति र प्रकृति मिसिएको छ, प्रकृति र संस्कृतिको सान्निध्यताले मात्र पर्यटनको दिगो विकास हुन्छ ।’ उनले भेडेटार भनेको आन्तरिक तथा वाह्य पर्यटकहरूको लागि रिफ्रेस सेन्टर भएको बताए । ‘तराईमा गर्मी भयो भने वा कुनै व्यावहारिक टेन्सन भयो भने हामी भेडेटार आएर फ्रेस हुने गरेका छौँ’–मन्त्री मण्डलले थपे । कोशी प्रदेशको सबैभन्दा ठूलो पर्यटनको बजार भनेको छिमेकी राष्ट्र भारतको विहार राज्य हो, भन्दै मन्त्री मण्डलले भने, ‘विहारका पर्यटक ल्याउनको लागि प्रदेश सरकारले पर्यटन कोरिडोरको गुरुयोजना निर्माण पर्यटन वर्ष ०८२ लाई अघि सारेका छौँ ।’
विशेष अतिथि साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले साँगुरीगढी गाउँपालिकालाई पर्यटनमैत्री गाउँपालिका बनाउन टुरिजम सर्किटको रूपमा विकास गर्ने बताए । जसका लागि उनले त्रिवेणीदेखि भेडेटारसम्म पदमार्ग निर्माण गर्नको लागि बजेट विनियोजन गरेर काम गरिरहेको जानकारी दिए । अध्यक्ष रुम्दालीले भने, ‘भेडेटारमा आउने हरेक पर्यटकलाई हरेक वडामा रहेका होम–स्टेमा पु¥याउने गरी प्याकेज कार्यक्रम गाउँपालिकाले ल्याउने तयारी गरिरहेको छ ।’ उनले गाउँगाउँ र वडा–वडामा होम–स्टे खोलेर भेडेटारमा आउने पर्यटकलाई वडामा पुर्याउने गरी नयाँ पर्यटन प्रवद्र्धनको कार्यक्रम अघिल्लो वर्षदेखि लागू भएको थप स्पष्ट पारेका छन् ।
खाना महोत्वस उद्घाटन समारोहमा लिम्बू जातिको ढोलनाच (केःलाङ), राई जातिको साकेला, याम्फू जातिको केलाङ र मगर समुदायले हुर्रा नाच प्रदर्शन गरेका थिए । उनीहरूलाई महोत्सव आयोजक समितिको तर्फबाट सम्मान गरिएको छ । त्यसैगरी साँगुरीगढी गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने गरी समाचार लेखेर सहयोग पु¥याउने नेपाल टेलिभिजनका धनकुटा संवाददाता विनोद घिमिरे र सुनसरीका अग्रज पत्रकार गोविन्द बस्नेतलाई नगदसहित प्रमाण–पत्रले सम्मान गरिएको छ ।
महोत्सवको मुख्य सहयोगी साँगुरीगढी गाउँपालिका, मुख्य प्रायोजक गोर्खा बु्रअरी, सह–प्रायोजक नेपाल टुरिजम बोर्ड, भेडेटार आमा समूह, सहयोगीमा साँगुरीगढी गाउँपालिका, ६ नं. वडा कार्यालय रहेका छन् । महोत्सवमा दुई दर्जनभन्दा बढी स्थानीय खानाका परिकार, स्थानीय अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफूलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामग्रीहरू प्रदर्शनीमा राखिएको आयोजक संस्था होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष तुमराज लिम्बूले बताए । महोत्सवको लागि बजार क्षेत्रलाई आकर्षक सजावट गरिएको छ । तीन दिनसम्म आयोजना हुने खाना महोत्सवमा आउने आगन्तुकलाई सडकमा खाने र सडकमा रमाउनेसँगै भिन्नभिन्न टुर प्याकेजहरूमा ५ देखि २० प्रतिशतसम्म छुट रहेको छ । आन्तरिक र वाह्य पर्यटकहरूलाई भेडेटारका होटलमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
महोत्सवमा आउने आन्तरिक तथा वाह्य पर्यटकलाई साँगुरीगढी गाउँपालिका भरिका ऐतिहासिकस्थल साँगुरीगढी, पाथीभरा मन्दिर, शङ्खेश्वर महादेवको मन्दिर, नाम्जे, नमस्ते झर्ना, शैलुङडाँडा, आत्मा बस्ने घर थुम्की, बौद्धविहार, गुम्बा, ध्वजेडाँडा अजङ्गको बरको रुखलगायतका स्थान घुमाउने योजना पनि छ । होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष तुमराज लिम्बूको अध्यक्षतामा सम्पन्न महोत्सव उद्घाटन सत्रमा कोशी प्रदेश सभा सदस्य एवम् पूर्व मन्त्री निरन राई, धरान उपमहानगरपालिकाका उप–प्रमुख अइन्द्रविक्रम बेघालगायतको उपस्थिति रहेको थियो ।