भद्रपुर । झापाको गौरीगञ्जस्थित आठमौजा छोटी भन्सार कार्यालय केही दिनपछि सञ्चालनमा आउने भएको छ ।
कोरोना कालदेखि बन्द रहेको छोटी भन्सार कार्यालयलाई यसै साता सञ्चालनमा ल्याउने तयारी थालिएको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ । आउँदो माघ १३ गते भन्सार दिवसको अवसर पारेर छोटी भन्सार कार्यालयलाई सञ्चालन गर्ने योजना रहेको मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी गणपति कँडेलले बताए । वर्षौंयतादेखि बन्द रहेको भन्सारलाई सञ्चालनमा ल्याउन लागिएको उनले जनाए । कर्मचारी पठाउने काम अन्तिम चरणमा पुगेको उनले जनाए । बिहारको फत्तेपुर नाकासँग जोडिएको छोटी भन्सार आठमौजा सञ्चालन हुँदा माई पश्चिमका बासिन्दालाई सहज हुने उनले जनाए ।
मेची भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडालका अनुसार छोटी भन्सार कार्यालयको अवस्था बुझेर यसै सातादेखि सञ्चालन गर्ने बताए । उनले केही पूर्वाधारको काम गर्नुपर्ने भएकाले त्यसलाई पूरा गरी सञ्चालनमा ल्याउने जानकारी दिए । झापाको बासिन्दा भएकाले आफ्नो कार्यकालमै छोटी भन्सार आठमौजालाई सञ्चालन गरेरै छाड्ने उनले बताए । यही माघ १३ गते भन्सार दिवस रहेको छ । मेची भन्सार कार्यालय अन्तर्गत तिरिङ, बाहुनडाँगी, नकलबन्दा, सतीघट्टा, पन्थापाँडा, महाभारा र गौरीगञ्जको आठमौजा गरी ७ वटा छोटी भन्सार रहेका छन् । कतिपय छोटी भन्सारको नामोनिशान नै छैन । कोरोनाकालभन्दा अघि केही फाटफुट सञ्चालनमा आए पनि त्यसपछि पूरै बन्द भएको भन्सारले जनाएको छ ।
भारतको
विहार तथा बङ्गाल राज्यसँग जोडिएको झापा जिल्लामा काँकडभिट्टा र भद्रपुर
गरी दुईवटा मुख्य नाका छन् । दुवै नाकामा मूल भन्सार रहेका छन् । जिल्लाका
अन्य नाकाहरूमा छोटी भन्सार कार्यालयहरू रहेका थिए । तर, काँकडभिट्टा र
भद्रपुर नाकाबाहेक अन्य भन्सारहरू लामो समयदेखि कोरोना महामारीका कारण बन्द
छन् । छोटी भन्सार बन्द भएपछि पछिल्लो समय स्थानीय सुरक्षाकर्मीको
मिलोमतोमा सीमाबाट अवैध आयात–निर्यात हुने क्रम बढ्दै गएको छ । (रासस)