धनकुटा । बेलायत निवासी धनकुटाका विश्वासदीप तिगेलाले धनकुटाको हात्तीखर्कस्थित आफूले अध्ययन गरेको विद्यालयलाई जग्गा, खेलमैदान र भवन हस्तान्तरण गरेका छन् ।
उनले जग्गा खरिद गरी खेल मैदान र स्टेज भवन निर्माण गरी छथर जोरपाटी–१ स्थित भारती माध्यमिक विद्यालयलाई हस्तान्तरण गरेको हो । उनले पाँच लाख रुपैयाँ खर्च गरी खेलमैदानको आकारलाई बढाइदिएका छन् । यस्तै उनले प्रवेश द्वारमा फलामको ढोका, खेलमैदानको वरिपरि तारजालीसमेत लगाइ दिएका छन् ।
एक कार्यक्रम आयोजना गरी दाता तिगेला र धर्मपत्नी भोजकुमारी थोक्लेनले विद्यालय सञ्चालक समितिका अध्यक्ष होमकुमार लिम्बू र विद्यालयका प्रधानाध्यापक भीमबहादुर लिम्बूलाई हस्तान्तरण गरे । तिगेलाले उक्त जग्गा २०६९ सालमा एक लाख ३८ हजारमा किनेर विद्यालयलाई दिएका थिए । विद्यालय व्यवस्थापन समितिले दाता तिगेलाले जग्गा किनेर, निर्माण गरिदिएको खेलमैदानको नाम ‘विश्वास दीप तिगेला खेलमैदान’ नामकरण गरेको छ ।
खेलमैदान र कार्यक्रम स्टेज भवनको
उद्घाटन छथर जोरपाटी गाउँपालिकाकी उपाध्यक्ष गीता खेवाले गरिन् ।
विद्यालयले तिगेला दम्पतीलाई दोसल्ला ओढाई सम्मान गरे । यता दाता तिगेलाले
आफूलाई पढाएका गुरु भोगेन्द्रराज अधिकारी र रेवती सुवेदीलाई ढाका टोपी लगाई
सम्मान अर्पण गरे । उनले आफू जन्मेको माटो, आमाबुबा र गुरुजनलाई सधैँ
सम्झने र सम्मान गर्ने बताए ।