धरान । नेपाल स्काउट कोशी प्रदेश समितिको आयोजनामा चौथो प्रादेशिक ज्याम्बोरेट माघ २८ गते सम्पन्न भएको छ ।
मोरङको विराटनगरस्थित डिग्री क्याम्पसमा आयोजित ज्याम्बोरेटमा विभिन्न साहसिक, मनोरञ्जनात्मक, बौद्धिक, आध्यात्मिकलगायतका क्रियाकलापहरू सञ्चालन भएको प्रदेश प्रमुख आयुक्त एवम् क्याम्प प्रमुख हेमन्त भण्डारीले जानकारी दिए । चार दिनसम्म चलेको ज्याम्बोरेटमा कोशी प्रदेशका ७० भन्दा बढी स्थानीय तहका स्काउट तथा स्काउटरहरू र अन्य ६ वटा प्रदेशबाट प्रतिनिधिमूलक स्काउटरहरू सहभागी बनेका थिए । उनका अनुसार करिब ३ हजारको हाराहारीमा स्काउटरहरू ज्याम्बोरेटमा भेला भएका थिए ।
यसैबीच विभिन्न विधामा उत्कृष्ट भएका प्रतियोगी तथा स्थानीय तहलाई पुरस्कृत पनि गरिएको थियो । यस्तै नेपाल स्काउटको वृत्ति विकासमा योगदान पुर्याएका स्काउट लिडरलाई पनि सम्मान–पत्र प्रदान गरिएको उनले जानकारी दिए ।
कार्यक्रमको उद्घाटन कोशी प्रदेश
सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारीले गरेका थिए ।
यस्तै समापन कार्यक्रमको प्रमुखको रूपमा नेपाल स्काउटका राष्ट्रिय
सह–प्रमुख आयुक्त किरण गिरी रहेका थिए । कार्यक्रममा राष्ट्रिय सामुदायिक
विकास आयुक्त सुदर्शन भट्टराई, राष्ट्रिय कार्यकारी समिति सदस्य रवि खनाल,
नवलप्रसाद उपाध्याय, प्रदेश प्रमुख आयुक्तहरू दिनेश यादव, दिनानाथ भट्टराई,
कमल बोहरा, नरेन्द्र थापालगायतको उपस्थिति रहेको थियो ।