धरान । त्रिभुवन विश्वविद्यालयअन्तर्गत महेन्द्र बहुमुखी क्याम्पस धरानमा कानून विषयको पाँच वर्षे शैक्षिक कार्यक्रम बीए एलएलबी सुरु भएको छ ।

कार्यक्रमको पहिलो दिन अभिमुखीकरण  कार्यक्रम गरिएको त्रिवि कानून सङ्कायका डिन प्रा.डा. कृष्णप्रसाद बस्यालले जानकारी दिए । अभिमुखीकरण कार्यक्रममा क्याम्पस प्रमुख चन्द्रकुमार राई, कानूनका सहायक क्याम्पस प्रमुख प्रकाशकुमार राई, कानूनका उप–प्राध्यापक गोविन्दमणि पौडेल तथा कानून सङ्कायका प्रा.डा. डिएन पराजुलीले मन्तव्य राखेका थिए ।

बीए र एलएलबीका कार्यक्रम निर्देशक मोहनकुमार कर्णले कार्यक्रमको विषय र मूल्याङ्कन पद्दतिको बारेमा चर्चा गरे । पाँच वर्षे बीए एलएलबी पहिलो पटक धरानमा सुरु भएको हो ।

यस वर्ष त्रिविअन्तर्गत काठमाडौँ, पोखरा र धरानमा गरी कुल ५२ जनाले भर्ना लिएका छन् । कानून सङ्कायमा व्यावहारिक र सैद्धान्तिक दुवै ज्ञान प्रवाह गरिने जनाइएको छ ।