भद्रपुर । झापा बिर्तामोडस्थित दुईवटा गोदाममा ठूलो परिमाणमा लागूऔषध फेला परेको एक महिना नबित्दै झापाको कमल गाउँपालिकाबाट ठूलो मात्रामा लागूऔषध बरामद भएको छ ।
बुधबार राति ९ बजे कमल गाउँपालिका वडा नं. ६ काटाचोक बस्ने विष्णुप्रसाद बगालेको घरमा लागूऔषध लुकाई राखेको भन्ने गोप्य सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त घर तलासी लिने क्रममा ३ हजार क्याप्सुल, ४ हजार १ सय ६० ट्याब्लेट बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
लागूऔषधसहित घरधनी बगाले र दमक वडा नं.६ थानारोड बस्ने दमक मेडिकल डिष्ट्रिब्युटरका सञ्चालक ४० वर्षीय गङ्गाबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । डिएसपी खड्काले दिएको जानकारीअनुसार बगालेको घरको दोस्रो तलाको कोठामा ती प्रतिबन्धित औषधिहरू लुकाएर राखिएको थियो । दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान भइरहेको छ । घटनामा संलग्न खड्काले बिर्तामोडमा समेत प्रतिबन्धित औषधिजन्य लागूऔषधको कारोबार हुने गरेको बताएको खुलासा गरे ।
त्यसैगरी यता बिर्तामोड प्रहरीले बिर्तामोड–५ स्थित कञ्चन टोलबाट लागूऔषध नियन्त्रणमा लिएको छ । राजेन्द्र पन्धाकको घरमा प्रतिबन्धित लागूऔषध भण्डारण गरी राखेको विशेष सूचनाको आधारमा बिहीबार लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इप्रका अनारमनीबाट प्रहरी टोली पुगेको थियो ।
टोलीले पन्धाकको घरको भूर्इंतलाबाट माथिल्लो तलाहरूमा जाने सिँढी मुनीको खाली भागमा कागजको कार्टुनहरूले छोपी राखेको अवस्थामा लागूऔषध नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीले २० हजार क्याप्सुल बरामद गरेर ४६ वर्षीय राजेन्द्र पन्धाकलाई नियन्त्रणमा लिई इप्रका अनारमनीमा राखी अनुसन्धान सुरु गरिएको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
यसअघि यही साउन १ गते राजनीतिक शक्तिको आडमा अवैध धन्दा गर्दै आएका बिर्तामोडका भानुभक्त खरेलको गोदाममा छापा मारी प्रहरीले ठूलो मात्रामा प्रतिबन्धित औषधिजन्य लागूऔषध बरामद गरेको थियो । नेकपा (एमाले) का नगर कमिटी बिर्तामोडका सदस्य तथा पार्टीनिकट राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ झापाका उपाध्यक्ष रहेका खरेल अझै फरार छन् । राजनीतिक शक्तिको आडमा खरेलसँग मिलेर बगाले र खड्काले प्रतिबन्धित औषधिजन्य लागूऔषधको कारोबार गरिरहेको अनुमान गरिएको छ ।