विराटनगर । निर्माण सुरु भएको ६ वर्षमा जम्मा २७ प्रतिशत काम । वर्षाले हिलाम्मे र खाल्डाखुल्डीले क्षतविक्षत बनेको सडक । पटक–पटकको आग्रह र आन्दोलनको सुनुवाइ नभएपछि आजित भएका मोरङ कटहरीका स्थानीयले आफ्नो आक्रोश पोख्न अन्ततः सडकमै धान रोपेका छन् । यो दृश्य कुनै खेतको नभई राष्ट्रिय गौरवको आयोजना भनिएको हुलाकी राजमार्गको हो, जहाँ विकासको सपना हिलोमा विलय भएको छ ।

कटहरी गाउँपालिका वडा नं. ३ स्थित कटहरी चोकमा बिहीबार बिहान स्थानीयहरू हातमा धानको बिउ लिएर सडकमा उत्रिए । उनीहरूले हिलाम्मे सडक धान रोपाइँ गरेर साङ्केतिक विरोध जनाए । एक घण्टासम्म चलेको यो विरोध कार्यक्रम ठेकेदारको चरम् हेल्चेक्र्याइँ र सरकारी निकायको निरीहतामाथिको कडा व्यङ्ग्य थियो ।

“यो सडक हो कि खेत ? हामीले कसरी छुट्याउने ?” आन्दोलनमा सहभागी कटहरी–३ की लक्ष्मीदेवी साहले आक्रोश पोखिन्, “६ वर्ष भइसक्यो, यो ६ किलोमिटर बाटो बनेन । पानी पर्दा घुँडासम्म हिलो हुन्छ, नानीबाबुहरूलाई स्कुल पठाउन सकिँदैन, बिरामीलाई अस्पताल लैजान एम्बुलेन्ससमेत पस्न मान्दैन । हाम्रो दुःख कसले सुन्ने ? त्यसैले सरकार र ठेकेदारलाई देखाउन सडकमै धान रोपेका हौँ ।”

यो सडक–खण्ड कटहरीको सिङ्घिया खोलादेखि नयाँबजार अगाडिको जुडीखोलासम्मको करिब ६ किलोमिटरको हो । सङ्घीय सरकारले ठेक्का लगाएको यो आयोजनाको सम्झौता २०७६ कात्तिक २४ गते श्रेष्ठ कन्स्ट्रक्सनले ७६ करोड रुपैयाँमा गरेको थियो । तीन वर्षभित्र अर्थात् २०७९ कात्तिक २३ गतेसम्म सम्पन्न गर्नुपर्ने काम ६ वर्ष बित्दा पनि एकचौथाइ मात्रै भएको छ । निर्माण कम्पनीको लापरबाहीका कारण तोकिएको समयमा काम नसकिएपछि म्याद थप गरेर २०८२ जेठ मसान्तसम्म पु¥याइएको छ, तर कामको गति हेर्दा त्यो मितिमा पनि सडक बन्ने कुनै छाँटकाँट देखिँदैन ।

स्थानीय दिपेश कामतका अनुसार सडक निर्माणको माग गर्दै पटक–पटक सर्वदलीय बैठक बस्ने, जिल्ला प्रशासन कार्यालय मोरङमा ठेकेदारका प्रतिनिधिलाई राखेर छलफल गर्ने जस्ता प्रयासहरू भए पनि ती सबै निरर्थक साबित भएका छन् । “हरेक पटक आश्वासन मात्रै पाइन्छ, काम हुँदैन” उनले भने, “हामी विकासको होइन, वर्षौंदेखि सास्तीको साक्षी बन्न बाध्य छौँ ।”

यो ६ किलोमिटर खण्ड रतुवा खोलादेखि विराटनगरको केशलिया खोलासम्मको ४४ किलोमिटर लामो हुलाकी राजमार्ग प्याकेजको हिस्सा हो, जसको कुल लागत तीन अर्ब ६० करोड रुपैयाँ छ । सुवास श्रेष्ठ सञ्चालक रहेको श्रेष्ठ कन्स्ट्रक्सनले आफ्नो जिम्माको काम पूरा गर्न नसकेपछि करिब ६ महिनाअघि काङ्ग्रेसका नेता अभिषेक गिरीलाई पेटी ठेक्कामा दिएको रहस्यले यो ढिलासुस्तीमा राजनीतिक संरक्षणको आशङ्कालाई समेत बल दिएको छ ।

निर्माण व्यवसायीको नाफाखोर प्रवृत्ति, राजनीतिक संरक्षण र सरकारी निकायको फितलो अनुगमनका कारण आज कटहरीका नागरिक सडकमा धान रोप्न बाध्य भएका छन् । उनीहरूको यो विरोध केवल एउटा सडकको दुर्दशा मात्र होइन, विकासका नाममा भइरहेको राष्ट्रिय ढुकुटीको चरम् दुरुपयोग र आम नागरिकले भोग्नुपरेको अनन्त कष्टको जीवन्त तस्बिर भएको स्थानीय विनोद सिंहले बताए । 

हुलाकी सडक आयोजनाका प्रमुख युवराज पोखरेलले ठेकेदार श्रेष्ठ अहिले पनि सम्पर्कविहीन रहेको जानकारी दिए । “यो सडकको निर्माण प्रक्रियाको म्याद सकिएको छ । दोस्रो पटक म्याद थप गरिएको म्याद पनि जेठ मसान्तमा सकिएको छ” उनले भने, “भौतिक प्रगति ६ वर्षमा २७ प्रतिशत मात्र भएको छ ।” ठेकेदार कम्पनी सम्पर्कमा आएर काम नगरे विकल्प खोजिने उनले बताए ।