धरान । धरान उपमहानगरपालिका–१२ मा अवस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रथम सेवा केन्द्रका रूपमा कायम गर्न माग गर्दै स्थानीय राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवालाहरूले धरान उपमहानगरपालिकामा ज्ञापन–पत्र बुझाएका छन् । 

स्थानीय तहका प्रमुख राजनीतिक दलका नेताहरू र तिनीहरूका भातृसङ्गठनका प्रतिनिधिहरूको संयुक्त दस्तखतसहितको ज्ञापन–पत्रमा प्रतिष्ठानलाई नै सर्वप्रथम सेवा दिने अस्पतालको रूपमा घोषणा गर्न नगर प्रमुखसमक्ष ध्यानाकर्षण गराएका छन् । 

ज्ञापनमा भनिएको छ, “२०८२ साउन १ गतेदेखि धरानवासीको प्रथम सेवा विन्दु कुन संस्थाबाट जाने भन्ने विषयमा अन्योल रहेको छ । यस विषयमा धरान उपमहानगरपालिकाले आवश्यक निर्णय गरी सार्वजनिकरूपमा स्पष्ट गर्न जरुरी देखिएको छ ।”

नेकपा (एमाले), नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, समाजवादीलगायतका दलहरूले धरान उपमहानगरपालिकामार्फत् बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्थानीयलाई सुलभ सेवा उपलब्ध गराउने वातावरण निर्माण गर्नुपर्ने उल्लेख गरेका छन् ।

साथै, प्राथमिक उपचारको हकमा बीपीलाई आधिकारिक रूपमा पहिलो सेवा दिने संस्थाका रूपमा नीतिगत र व्यावहारिक रूपले कार्यान्वयन गर्न अगाडि बढ्नुपर्ने माग राखेका छन् । ज्ञापन–पत्रमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी यस निर्णयलाई स्पष्ट र प्रभावकारी ढङ्गले लागू गरिनुपर्छ । धरानको पुरानो अस्पताललाई पुनःसञ्चालन गरी विपद् व्यवस्थापन र समुदायिक स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने माग अघि सारिएको छ ।