काठमाडौँ । देशका विभिन्न स्थानमा सोमबार जेन जी पुस्ताको आह्वानमा भएको प्रदर्शनले उग्ररूप लिएको छ । काठमाडौँ उपत्यकामा प्रदर्शनका क्रममा घाइते भई विभिन्न अस्पतालमा उपचाररत १९ प्रदर्शनकारीको ज्यान गएको छ ।
यसैगरी विभिन्न अस्पतालमा ४४६ जनाभन्दा बढी घाइते प्रदर्शनकारीहरूको उपचार भइरहेको छ । ट्रमा सेन्टरमा उपचाररत छ प्रदर्शनकारीको मृत्यु भएको छ । यसैगरी २५ जना घाइतेको उपचार भइरहेको ट्रमा सेन्टरले जनाएको छ । उनीहरूमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको छ ।
सिभिल अस्पतालका अनुसार उपचाररत घाइते प्रदर्शनकारीमध्ये हालसम्म तीन जनाको मृत्यु भएको छ । काठमाडौँ मेडिकल कलेजमा उपचाररत २० घाइतेमध्ये एकको मृत्यु भएको छ । एभरेष्ट हस्पिटलमा ३४ जना उपचाररत रहेकामा तीनको मृत्यु भएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एकको मृत्यु भएको छ । त्यहाँ घाइते १६ जनाको उपचार भइरहेको छ ।
उपचाररत घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ । जेन जी प्रदर्शनमा भएको क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।
समाचार सङ्कलनमा खटिएका चार पत्रकार घाइते
प्रदर्शनको समाचार सङ्कलनमा खटिएका चार पत्रकार घाइते भएका छन् । नयाँ बानेश्वर क्षेत्रमा विरोध प्रदर्शनको समाचार सङ्कलन गर्न खटिएका पत्रकारहरू श्याम श्रेष्ठ, दीपेन्द्र ढुङ्गाना, उमेश कार्की र शम्भु दङ्गाल घाइते भएका नेपाल पत्रकार महासङ्घ काठमाडौंले जनाएको छ ।
घाइते पत्रकारको ट्रमा सेन्टर, पाटन अस्पताल र सिभिल अस्पतालमा उपचार भइरहेको छ । महासङ्घका महासचिव रामप्रसाद दाहालले घाइते पत्रकारको अवस्थाबारे जानकारी लिने काम भइरहेको बताए ।
मानवअधिकार आयोगको गाडीमा आगजानी
प्रदर्शनको अनुगमन गर्न गएको राष्ट्रिय मानवअधिकार आयोगको टोली सवार गाडीमा आगजनी भएको छ । गाडीमा चार जना सवार रहेको र उनीहरू सकुशल रहेको आयोगका प्रवक्ता डा. टीकाराम भट्टराईले जानकारी दिए ।
उनका अनुसार नयाँ बानेश्वरस्थित ‘जेन जी’ प्रदर्शनका क्रममा भएको झडपका घाइतेको अवस्था बुझ्न त्यसतर्फ जाँदै गर्दा आन्दोलनकारीले आयोगको गाडीमा आगजनी गरेका हुन् ।
घाइतेको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार भएको आन्दोलनमा घाइते भएका नागरिकको उपचार निःशुल्क गर्न मातहतका सबै सङ्घीय अस्पतालहरूलाई निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको अग्रसरतामा मन्त्रालयले सङ्घीय अस्पतालमा आउने आन्दोलनका घाइतेलाई कुनै शुल्क नलाग्ने गरी शीघ्र उपचारको व्यवस्था गर्न ‘सर्कुलर’ जारी गरिएको हो ।
यसैगरी मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक परेका विभिन्न स्थानमा सहजै उपलब्ध गराउन पनि निर्देशन दिएको छ । काठमाडौँ उपत्यकाको एम्बुलेन्स सञ्जाललाई अस्पतालबाट ‘रिफर’ हुने बिरामीलाई अर्काे अस्पतालमा लिएर जान सहजीकरणका लागि समेत आह्वान गरेको छ । साथै, सम्पूर्ण चिकित्सक एवम् स्वास्थ्यकर्मीलाई एकजुट भई घाइतेको उपचारमा जुट्न पनि मन्त्रालयले आह्वान गरेको छ ।
सुरक्षाका लागि खटाइयो नेपाली सेना
काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा ‘जे नजी’ को प्रदर्शन अराजक बनेपछि सुरक्षाका लागि नेपाली सेना खटाइएको छ ।
बिहान माइतीघर मण्डलाबाट सुरु भएको उक्त प्रदर्शन निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वर क्षेत्र हुँदै संसद् भवन प्रवेश गरेपछि तोडफोड र आगजनीमा उत्रिएको थियो । नेपाल प्रहरीले स्थिति नियन्त्रणमा लिन दर्जनौँ सेल अश्रुग्यास र हवाई फायर गर्नुपरेको थियो ।
प्रदर्शनकारी संसद् भवन प्रवेश गरेपछि स्थानीय सुरक्षा समितिको आग्रहअनुसार नेपाली सेनाको एक टुकडी कफ्र्यु आदेश जारी गरेको क्षेत्रमा सुरक्षाका लागि परिचालन गरिएको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए ।
प्रदर्शनका क्रममा एक डिएसपी, एक इन्स्पेक्टरलगायत ३० भन्दा बढी प्रहरी र दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन् । सुरक्षाका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालयले काठमाडौँका विभिन्न स्थानमा कफ्र्यु आदेश जारी गरेको छ ।
निषेधाज्ञा अवधिभर जुलुस र आवत–जावत नगर्न अनुरोध
जिल्ला प्रशासन कार्यालय काठमाडौँले सङ्घीय संसद् भवनलगायत काठमाडौँका संवेदनशील क्षेत्रमा कफ्र्यु आदेश जारी भएकाले आदेश अवधिभर भेला, जुलुस र आवत–जावत नगर्न अनुरोध गरेको छ ।
उपत्यकामा जेन जी को प्रदर्शन उग्र भएपछि जिल्ला प्रशासन काठमाडौँले नयाँबानेश्वर, राष्ट्रपति, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको निवास बालुवाटार र सिंहदरबार क्षेत्र आसपास राति १०ः०० बजेसम्म कफ्र्यु आदेश जारी गरेको थियो ।
रेडक्रसको एम्बुलेन्स र प्राथमिक उपचार टोलीमाथि आक्रमण
नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाले सोमबार जेन जी प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचारमा एम्बुलेन्ससहित खटिएका प्राथमिक उपचार टोलीमाथि भएको आक्रमणप्रति दुःख व्यक्त गरेको छ ।
शाखाका सभापति श्यामकाजी डोटेलले जारी गरेको प्रेस विज्ञप्तिमा काठमाडौँको मध्यबानेश्वरमा नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्स र प्राथमिक उपचारमा खटिएका टोलीमाथि अभद्र व्यवहार र ढुङ्गा प्रहार गरिएको घटनाले दुःखी तुल्याएको उल्लेख छ ।
“घाइतेको उपचार, अस्पतालसम्म पुर्याउने र रगतको व्यवस्थापनका लागि खटिएका रेडक्रसकर्मी र रेडक्रस चिन्ह अङ्कित एम्बुलेन्सलाई सेवा प्रदान गर्न सबैले सहयोग गरिदिनुहुन सम्पूर्ण महानुभावमा हार्दिक अनुरोध गर्दछौँ”–जारी विज्ञप्तिमा भनिएको छ ।
सरकारले बनायो छानविन समितिजेन जीहरूले सोमबार गरेको प्रदर्शनले हिंसात्मक रुप लिएपछि भएको घटनाबारे सरकारले छानबिन समिति बनाउने निर्णय गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति बनाउने निर्णय गरेको एक मन्त्रीले बताएका छन् ।
उनका अनुसार, समितिले १५ दिनभित्र घटनाको छानबिन गरे सरकारलाई प्रतिवेदन बुझाउने टिओआर तय भएको छ ।
सरकार विघटन गर्न राप्रपाको माग
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जेन जी पुस्ताले गरेको आन्दोलनमा सरकारले गरेको दमनपछि सरकार विघटनको माग गरेको छ ।
सोमबार अपराह्न केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकपछि राप्रपाले सरकार विघटनको माग राखेको हो ।