विराटनगर । भ्रष्टाचार र बेथितिविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका जेन जी पुस्ताका युवाहरूमाथि सरकारले निर्ममतापूर्वक दमन गर्दा राजधानी काठमाडौँलगायत देशभरका प्रदर्शन हिंसात्मक बनेका छन् । कोशी प्रदेशको सुनसरीस्थित इटहरीको स्थिति सोमबार भयावह बन्न पुगेको छ । जहाँ सुरक्षाकर्मीले चलाएको गोली लागी दुई प्रदर्शनकारीको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । सरकारको यो दमनकारी नीतिले कोशी प्रदेशका विभिन्न जिल्लामा गहिरो सिर्जना गरेको छ ।

सुनसरीको इटहरीमा सोमबार बिहान ११ बजेदेखि सुरु भएको जेन जी पुस्ताको विरोध प्रदर्शन दिउँसो इटहरी उपमहानगरपालिकाको गेटमा पुगेपछि हिंसात्मक मोडमा पुगेको थियो । उपमहानगरपालिका भवनभित्र प्रवेश गर्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन भन्दै प्रहरीले अत्यधिक बल प्रयोग गर्दै अश्रुग्यास र दर्जनौं राउण्ड गोली चलाएको थियो । प्रहरीको गोली लागेर दुई जना युवाको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । मृतकमध्ये एक जना इटहरी लविपुरका अभिशेष श्रेष्ठ रहेको र अर्का एक जनाको भने पहिचान खुल्न सकेको छैन । गोली लागेर गम्भीर घाइते भएका उनीहरूलाई तत्काल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइए पनि चिकित्सकहरूले मृत घोषित गरेका थिए । घाइते एक जना सशस्त्र प्रहरी हवल्दार भुवनसिं शङ्करको प्रतिष्ठानमा उपचार भैरहेको प्रहरीले जनाएको छ । दमकमा भएको आन्दोलनका घाइते अर्का एकजनाको पनि प्रतिष्ठानमा उपचार भैरहेको प्रतिष्ठान प्रहरी पोष्टका इन्चार्ज सइ कृष्णप्रसाद भट्टराईले जनाए । 

घटनालगत्तै आक्रोशित जेन जी समूहका युवाहरूले इटहरी उपमहानगरपालिकाभित्र प्रवेश गरी व्यापक आगजनी गरेका छन् । मेयर हेमकर्ण पौडेलको कार्यकक्षसहित उपमहानगरपालिकाका महŒवपूर्ण कागजात तथा भौतिक संरचनामा आगजनी भएको सुनसरीका प्रहरी प्रमुख सुमन तिमल्सिनाले जानकारी दिए । उनले हालसम्म दुई जनाको मृत्यु भएको पुष्टि गर्दै अवस्था तनावग्रस्त रहेको बताएका छन् । प्रदर्शनकारीहरू नगर प्रमुख हेमकर्ण पौडेलको घरमासमेत पुगेर ढुङ्गामुडा गरेको प्रहरीले जनाएको छ ।

इटहरीबाट १३ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । इटहरीको घटनामा एक डिएसपीसहित ८ जना प्रहरी र चार जना सशस्त्र प्रहरी घाइते भएको पनि प्रहरीले जनाएको छ ।स्थितिलाई थप बिग्रन नदिन र नियन्त्रणमा राख्न जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरीको चार स्थानमा अनिश्चितकालका लागि कफ्र्यु आदेश जारी गरेको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रद्वारा जारी आदेशअनुसार इटहरीको उत्तरतर्फ हलगडा नेपाली सेनाको ब्यारेकदेखि पारुहाङ चोकभित्र, पूर्वतर्फ मिलन चोकदेखि जुट विकासभित्र, दक्षिण अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय दक्षिण, यातायात कार्यालय, साथी पेट्रोल पम्प, पुष्पलाल चोक हुँदै बसपार्क क्षेत्रभित्र र पश्चिमतर्फ कलङ्की मोडदेखि जनता बस्तीभित्र कुनै पनि किसिमका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पूर्णतः निषेध गरिएको छ । यो कफ्र्यु आदेशले इटहरीको जनजीवनलाई पूर्णरूपमा प्रभावित पारेको छ ।

प्रहरीको गोली लागेर सातजना घाइते भएका छन् । घाइते हुनेमध्ये चार जनाको विराट टिचिङ अस्पतालमा, दुई जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र एक जनाको विराटनगरस्थित नोबेल हस्पिटलमा उपचार भइरहेको छ । घाइते हुनेहरूमा सुनसरीको रामधुनीका १७ वर्षीय आशिष चौधरी, बूढीगङ्गा–७ का १९ वर्षीय सान्तुनु ढकाल, इटहरी–४ का १६ वर्षीय अनमोल पन्त, इटहरी–१० की सम्झना विक लगायत रहेका छन् । घाइतेमध्ये ढकालको टाउकोमा गम्भीर चोट लागेको र उनको तत्काल शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको अस्पतालले जनाएको छ ।

कोशीको कुन जिल्लामा के भयो ?

इटहरीमा मात्र होइन, कोशी प्रदेशका अन्य प्रमुख सहरहरूमा पनि जेन जी पुस्ताले सरकारविरुद्ध सशक्त प्रदर्शन गरेका छन् र सरकारी दमनको सामना गर्नुपरेको छ ।

कोशी प्रदेशको राजधानी विराटनगरमा पनि जेन जी पुस्ताका प्रदर्शनकारीहरूले सरकारको दमनकारी नीतिको विरोध गर्दै निषेधाज्ञा तोडेर प्रदर्शन गरेका छन् । दिउँसो उनीहरूले प्रहरीले लगाएको प्रदर्शन निषेधको घेरालाई भत्काउँदै प्रदेशसभा भवन अगाडिसम्म पुगेका थिए । विराटनगरको सनसारीमाईस्थानदेखि सुरु भएको यो प्रदर्शन ट्राफिक चोक, महेन्द्रचोक हुँदै रोडशेषमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि र त्यसपछि जिल्ला प्रशासन कार्यालयअगाडि पुगेको थियो । 

युवाहरूले सरकारविरुद्ध चर्का नाराबाजी गर्दै व्यापक विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा ढुङ्गा लागेर वडा प्रहरी कार्यालय विराटनगरमा कार्यरत इन्स्पेक्टर अपिल चापागाईं घाइते भएका छन् । प्रदर्शनकारीले हानेको ढुङ्गा उनको अनुहारमा लागेको र उनको न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

गृहनगरमा प्रधानमन्त्रीको पुत्ला दहन र गोली प्रहार

प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर झापाको दमकमा पनि जेन जी पुस्ताले सशक्त प्रदर्शन गरेका छन् । यहाँ पनि प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाउँदा तीन जना गम्भीर घाइते भएका छन् । आन्दोलन चर्किंदै गएपछि भीड नियन्त्रण गर्न प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीका अनुसार दमक चोकबाट जुलुससहित दमक नगरपालिकाअगाडि पुगेका प्रदर्शनकारीले प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्नुका साथै नगरपालिकाको गेट तोडफोड गर्न खोज्दा स्थिति तनावग्रस्त बनेको थियो । घाइतेहरूको अहिले बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी बिर्तामोडमा पनि प्रदर्शनी भएको छ । प्रदर्शनकारीले बिर्तामोड नगरपालिकाको नवनिर्मित भवनमा ढुङ्गामुडा गरेका थिए । त्यसक्रममा भवनको सम्पूर्ण सिसा फुटेको छ । नगरपालिकाको गेटमा आगजनी गरेका प्रदर्शनकारीलाई प्रहरीले अश्रु ग्यास र रबरको गोली प्रहार गरेर लखेटेको थियो । प्रदर्शनकारीले बिर्ताबजारमा टायर बालेर सडक अवरुद्व गरेका थिए । आगो निभाउन गएको नगरपालिकाको मे १ ग ४१ नम्बरको दमकल प्रदर्शनकारीले तोडफोड गरेका थिए । प्रदर्शनकारीको ढुङ्गा प्ररहारबाट दमकलको अगाडिको सिसा फुटेको छ । आन्दोलनकारी फर्किने क्रममा बिर्ताबजारस्थित प्रहरी चौकीमा ढुङ्गा प्रहार गरेका छन् । प्रहरीका अनुसार चौकीको केही भागमा क्षति पुगेको छ ।

धनकुटामा पनि प्रदर्शन 

धनकुटामा पनि जेन जी पुस्ताले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । उनीहरूले सामाजिक सञ्जाल तत्काल खोल्नुपर्ने र व्याप्त भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने माग गर्दै धनकुटा बजारका विभिन्न भागमा प्रदर्शन गरेका हुन् ।

धनकुटा–७ स्थित चुवाको बोटमा जम्मा भएर जेन जी समूहले धनकुटा बजारमा प्रदर्शन गरेका थिए । चुवाको बोटबाट सुरु भएको जेन जी समूहको प्रदर्शन नाराबाजी गर्दै धनकुटा बसपार्क, मदनचोक, हुलाकटोल, परिचयमोड, बीचबजार, सिरान बजार, भीमनारयणचोक, माथिल्लो कोप्चे, बिहीबारे हटिया, तल्लो कोप्चे, टुँडिखेल हुँदै पुनः चुवाको बोटमा आएर कोणसभामा परिणत भएको थियो ।

आयोजित कोणसभालाई जेन जी समूहका संयोजक एवम् क्वीक रेस्पोन्स धनकुटाका संयोजक दर्शन थापाले सम्बोधन गरेका थिए । उनले सामाजिक सञ्जाल तत्काल खुल्ला नभएसम्म र भ्रष्टाचारीलाई कारबाहीको दायरामा नल्याएसम्म आन्दोलन जारी रहने बताए । उनले वर्तमान एमाले र काङ्ग्रेस नेतृत्वको गठबन्धन सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गरेको आरोपसमेत लगाए ।  

प्रदर्शनको क्रममा उनीहरूले भ्रष्टाचारीलाई किरा परोस्, जेन जी समूह जिन्दावाद, जनता कर तिर्ने नेता हसुर्ने, पसिना र कर हाम्रो, मोजमस्ती तिम्रो उल्लेखित प्ले–कार्ड छातीमा टाँसेर धनकुटा बजारका विभिन्न भागको परिक्रमा गरेका थिए । प्रदर्शनमा करिब २ सय ५० को हाराहारीमा युवाहरूको उपस्थिति रहेको थियो ।  

त्यस्तै खोटाङ सदरमुकाम दिक्तेल बजारमा पनि जेन जी पुस्ताका युवाहरूले भ्रष्टाचार र बेथितिविरुद्ध सरकारविरोधी नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।

विराटनगरका विद्यालय बन्द

जेन जी आन्दोलन चर्किएसँगै सिर्जना भएको तनावपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै विराटनगर महानगरपालिकाले आज (मङ्गलबार) एक दिनका लागि सार्वजनिक तथा निजी विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । महानगरका शैक्षिक महाशाखा प्रमुख राम ढुङ्गेलका अनुसार महानगर क्षेत्रका सबै विद्यालय आज बिदा दिइएको छ । महानगर क्षेत्रमा सोमबार विभिन्न भागमा जेन जी पुस्ताले आन्दोलन गरेका कारण शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राखी यो निर्णय गरिएको हो ।