धरान । किरात याक्थुङ चुम्लुङ सुनसरीको अगुवाइमा धरान–२० स्थित ऐतिहासिक याक्थुङ सांस्कृतिक तथा धार्मिक स्थलको पर्यटन प्रवद्र्धन गर्न याक्थुङ यक् मुन्धुम पदमार्ग र मुख्य प्रवेशद्वार बनाइएको छ । 

शनिबार धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाले विधिवत् रूपमा पदमार्ग तथा मुख्य प्रवेशद्वारको उद्घाटन गरेका हुन् । 

स्थानीय सरकारको सीमित लगानी र विभिन्न दाताहरूको विशेष सहयोगमा करिब ३५ लाख रुपैयाँभन्दा बढी लागतमा निर्माण गरिएको १ हजार ६० मिटर लामो पदमार्ग ढुङ्गा बिछ्याएर तयार गरिएको छ । मुख्य प्रवेशद्वारलाई याक्थुङ पहिचान झल्किने कलात्मक तथा आकर्षक शैलीमा निर्माण गरिएको छ ।

उद्घाटन कार्यक्रमअघि याक्थुङ मुन्धुम यक्मा केलाङ, येबा तथा साम्बा पुजारीद्वारा विशेष पूजा सम्पन्न गरिएको थियो ।

 त्यसपछि मानेभञ्ज्याङबाट आमन्त्रित अतिथिहरूलाई केलाङ, येबा–साम्बालाङसहित उद्घाटन स्थलसम्म सांस्कृतिक ¥याली निकालिएको थियो ।

कार्यक्रममा कार्यवाहक नगर प्रमुख बेघा, धरान–१५ का वडा अध्यक्ष नरेशकुमार इवारम, धरान–२० का वडाध्यक्ष पदमबहादुर लिम्बूलगायतले मन्तव्य राखेका थिए । 

कार्यक्रममा पदमार्ग निर्माण समितिका कोषाध्यक्ष पूर्णमाया लिम्बूले आय–व्यय विवरण प्रस्तुत गरेकी थिइन् । कार्यक्रम याक्थुङ मुन्धुम पदमार्ग निर्माण समितिका अध्यक्ष मोहनकुमार हुक्पा चोङ्बाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।