नेपालले मान्दै आएको विक्रम संवत्अनुसार आजदेखि पात्रो फेरिएको छ । हामी नयाँ साल अर्थात् २०८३ लाई आँगनमा भित्र्याएका छौँ । यो नेपालीका लागि खुसीको क्षण हो । यो खुसी वर्षभरि नै कायम हुनेछ भन्ने हामी विश्वस्त छौँ । २०८२ साल केही पृथक् रह्यो । देशको लागि मात्रै नभई मिडिया क्षेत्रका लागि पनि पृथक् रह्यो । यही वर्ष देशले नराम्रोसँग दुईवटा घटनाहरु बेहोर्यो । भदौ २३ र २४ को घटना नमेटिने छाप बनेर रह्यो । जेन जी आन्दोलनका कारण पनि २०८२ स्मरणीय रह्यो । कतिपयले यसलाई आन्दोलनको रुपमा व्याख्या गरे भने कतिपयले विद्रोह । यो विद्रोह वा आन्दोलन जे भए पनि यसका सुखद् र दुःखद् पक्षहरु आम नेपाली तथा देशले भोग्यो । 

यो आन्दोलनमा ७६ जना मरे । यस्तै देशका भौतिक सम्पत्ति र सम्पदाहरु ध्वस्त भए । व्यक्तिगत सम्पत्तिहरु पनि जले । देशको राजनीति ठीक ट्र्याकमा जान नसक्दाको परिणाम हामीले यही दुई दिनमा देख्यौँ । यसमा अर्बौंको भौतिक क्षति मात्रै भएन, आमाहरुको कोख पनि रित्तिए । त्यसबाट पाठ सिक्दै अबका दिनमा हामीले बाटो तय गर्नुपर्नेछ । यही वर्ष जेन जी आन्दोलनका कारण प्रतिनिधिसभा विघटन भई अर्को निर्वाचन भयो । नियमित निर्वाचनभन्दा पृथक् थियो । यसैकारण नयाँ शक्तिको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी उदायो । फागुन २१ गते सम्पन्न निर्वाचनमा यसले दुईतिहाइ नजिक सिट ल्यायो र हाल सरकार सञ्चालन गरिरहेको छ । 

सरकारले केही राम्रा काम गर्ने सङ्केत पनि देखाएको छ भने कतिपय अवस्थामा संविधान, ऐन, कानूनभन्दा बाहिर गएर पनि काम गरेको छ । अर्कोतिर प्रतिशोधको राजनीतिलाई बढावा दिएको सङ्केत गरेको छ । सकारात्मक र नकारात्मकका बीचमा यो सरकार अब कसरी अगाडि बढ्छ भन्ने संशय सबैमा देखिन्छ तर नयाँ वर्षले ती संशयहरुलाई चिर्न सकोस् । देशले नयाँ मार्ग कोर्न सकोस् । हिजोका दिनमा भएका गल्ती कमीकमजोरीहरुलाई अन्त्य गर्ने सद्बुद्धि पनि यो नयाँ वर्षले सबैलाई देओस् । नयाँ वर्षले नयाँ कामहरु, नयाँ मार्गचित्रहरु तयार गर्न सक्ने प्रेरणा देओस् । देशले भ्रष्टाचारको समूल अन्त्य, सुशासन र जवाफदेहीतालाई आत्मसात गर्न सकोस् ता कि आम नेपालीले भन्दै आएको देशको विकास, समृद्धि तय हुन सकोस् । 

नयाँ वर्ष पात्रो फेरिने वर्षको रुपमा मात्रै नरहोस् । यसले सोचमा, लक्ष्यमा, काम गराइमा, योजनामा फेरबदल ल्याउन सकोस् । यसका लागि देशको मूल नीति राजनीतिले एउटा नयाँ डिस्कोर्षको थालनी गरोस् । त्यो डिस्कोर्षलाई सदैव जीवित राख्नका लागि गम्भीर छलफल, सूक्ष्म अध्ययन, अनुसन्धानलगायतमा काम गर्न सकोस् । सुशासनविनाको राज्य, राज्य हुन सक्दैन । त्यसकारण राज्यले एउटा उचाइ प्राप्त गर्नका लागि सरकार सञ्चालकहरुले संविधान, ऐन, कानून, विधिविधानमा रहेर काम गर्नुपर्छ । 

आज हामी सूचना प्रविधिको क्षेत्रमा नयाँ नयाँ विकास तथा अद्भूत कुराहरु देखिरहेका छौँ । यो कुरालाई आत्मसात नगरी अगाडि बढ्न सकिँदैन । देश जब प्रविधिमैत्री बन्दै जान्छ, तब उत्पादनमा वृद्धि मात्रै हुँदैन । त्यसले मानिसको सोचलाई पनि परिवर्तन गरिदिन्छ । काम गर्ने शैलीमा पनि परिवर्तन गरिदिन्छ । यसकारण हामीले नयाँ मार्ग कोर्नका लागि नयाँ सोच, लक्ष्य र उद्देश्य हुनै पर्छ । यो नयाँ वर्षले यस्ता लक्ष्य, सोच र उद्देश्यलाई आत्मसात गर्न सकोस् । ता कि नेपाल विश्वमा एउटा उदाहरणीय देश बन्न सकोस् । आज मिडियाको क्षेत्रमा दैनानुदिन समस्याहरु आउँदै गएका छन् । त्यो सरकारका कारणले पनि आइरहेका छन् भने कतिपय अवस्थामा सूचना प्रविधिको तीव्रत्तर विकासका कारणले पनि आइरहेको छन् । नयाँ नयाँ मिडियाहरु बजारमा भित्रिरहेका छन् । ती हाम्रा लागि चुनौती मात्रै हैनन्, अवसर पनि हुन् । तर आज मिथ्या सूचनाको बाढीमा यसबाट बच्ने चुनौती पनि छ र अवसर पनि । यस्ता कुरालाई अबका मिडियाहरुले स्थान दिएर जानुपर्ने अवस्था छ । 

हामी एउटा माध्यम मात्रै होइनौँ, हामी विचार निर्माण गर्ने विचारक पनि हौँ । आजको दिनमा मिडिया एउटा माध्यम् मात्रै हुन सक्दैन । यो एउटा समाज निर्माणको अभिन्न अङ्ग पनि हो । यो अङ्गलाई भरपूर प्रयोग गर्न सक्यौँ भने मात्रै हामीले देशलाई कुन दिशामा अगाडि बढाउने, हाम्रो समाज कस्तो हुने, परिवार कस्तो हुने भन्ने दिशा तय गर्न सक्छ । त्यसकारण यसतर्फ गम्भीर मन्थन गर्ने सद्बुद्धि नयाँ वर्षले देओस्, यही छ नयाँ वर्षको शुभकामना ।