विराटनगर । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि र आपूर्तिमा देखिएको असहजताका कारण पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको काँकडभिट्टा–लौकही सडक–खण्डको स्तरोन्नति कार्य प्रभावित भएको छ । सडक कालोपत्रेका लागि अनिवार्य मानिने बिटुमिन (अलकत्रा) र इन्धनको अभावले आयोजनाको गति सुस्त बनेको छ ।
काँकडभिट्टादेखि सीतापुरीसम्मको पूर्वी खण्डमा इभ्रास्कन कालिका जेभीले तीव्र गतिमा काम गरिरहेको भए पनि पछिल्लो समय निर्माण सामग्रीको चर्को मूल्यवृद्धि र अभावले काम अगाडि बढाउन नसक्ने अवस्था आएको व्यवसायीले बताएका छन् । ४५ किलोमिटर लम्बाइको यस खण्डमध्ये झण्डै २२ किलोमिटर सडकमा पहिलो तहको कालोपत्रे गर्न ‘बेस’ बिछ्याएर तयारी अवस्थामा राखिएको छ । तर, कालोपत्रे गर्ने मुख्य समयमै बिटुमिन नपाउँदा र डिजेलको कोटा कटौती हुँदा कम्पनी समस्यामा परेको हो ।
आयोजनाका पूर्वीखण्ड प्रमुख (सीडीई) सुनिलबाबु पन्तका अनुसार यो समस्या राष्ट्रियस्तरकै सङ्कटका रूपमा देखिएको छ । “अहिले पुरानो मौज्दातबाट जेनतेन काम भइरहेको छ, तर अब स्टक सकिएपछि स्थिति जटिल हुने देखिन्छ” पन्तले भने, “यही गतिमा मूल्य बढ्ने र अभाव भइरहने हो भने कामलाई निरन्तरता दिन कठिन हुन्छ ।”
ठूला आयोजनामा टिपर, एक्साभेटर र रोलर चलाउन दैनिक हजारौँ लिटर डिजेल आवश्यक पर्छ । तर, नेपाल आयल निगमले निर्माण कम्पनीलाई उपलब्ध गराउँदै आएको डिजेलमा भारी कटौती गरेको छ । इभ्रास्कन कालिका जेभीका प्रोजेक्ट म्यानेजर उज्वल प्रसाईंका अनुसार दैनिक २० हजार लिटर डिजेल चाहिने ठाउँमा निगमले ५ देखि ६ हजार लिटर (करिब २५ प्रतिशत) मात्र उपलब्ध गराइरहेको छ ।
“पहिले ९० देखि ९२ रुपैयाँमा पाइने बिटुमिनको मूल्य अहिले १ सय ३५ रुपैयाँ नाघेको छ” प्रसाईंले भने, “इन्धन र बिटुमिनको मूल्य दोब्बरजस्तै हुँदा ठेक्का सम्झौताको दरमा काम गर्न असम्भवप्रायः छ ।”
निर्माण व्यवसायी महासङ्घ मोरङका अध्यक्ष महेश मिश्रले इन्धन अभावकै कारण कतिपय मेसिनरी उपकरण थन्क्याउनुपरेको बताए । “१ सय ३३ रुपैयाँको डिजेल २ सय ४ पुग्यो, गिट्टी र बिटुमिनको मूल्य पनि आकाशिएको छ” मिश्रले भने, “अहिलेको अवस्थामा कसैले पनि नयाँ पिच गर्नसक्ने स्थिति छैन ।” १५–२० दिनभित्र समस्या समाधान नभए काम पूर्णरूपमा ठप्प हुने उनले चेतावनी दिए ।
प्रदेशका आयोजना पनि अलपत्र
यो सङ्कटको असर कोशी प्रदेश सरकार मातहतका आयोजनामा पनि परेको छ । भौतिक पूर्वाधार विकासमन्त्री प्रदिपकुमार सुनुवारले झापाका धेरै आयोजनामा काम रोकिने अवस्था आएको बताए । प्रदेश सरकार अन्तर्गत मात्रै १० देखि १२ अर्ब रुपैयाँका आयोजना सञ्चालनमा छन् ।
“बिटुमिनको मूल्य ८०–९० बाट बढेर १ सय ४८ रुपैयाँसम्म पुगेको तथ्याङ्क छ” मन्त्री सुनुवारले भने, “यसमा प्रदेश सरकारले सिधै केही गर्न सक्दैन । सङ्घ सरकारले खरिद ऐनअनुसार ‘ठेक्का होलिडे’ वा कुनै विशेष राहत प्याकेज नल्याएसम्म समस्या सुल्झने देखिँदैन ।”
निर्माण व्यवसायी सङ्घ झापाका अध्यक्ष रमेश अधिकारीका अनुसार साना व्यवसायीहरूले त कालोपत्रेको काम पूर्णरूपमा रोकिसकेका छन् । अन्तर्राष्ट्रिय बजार र आपूर्ति शृङ्खलामा आएको अवरोधका कारण निर्माण लागत र सम्झौता रकमबीच ठूलो खाडल देखिएपछि ठेकेदारहरू पलायन हुने जोखिम बढेको छ ।
नेपाल निर्माण व्यवसायी महासङ्घले सरकारले मूल्यवृद्धि नियन्त्रण र आपूर्ति सहज नगरे देशभर ‘कन्स्ट्रक्सन होलिडे’ गर्ने चेतावनी दिइसकेको छ । १० अर्ब ६ करोड ९४ लाख रुपैयाँको लगानीमा निर्माण भइरहेको काँकडभिट्टा–लौकही सडक समयमै सम्पन्न नभए यसको लागत अझै बढ्ने र पूर्वी नाकाको व्यापारिक आवागमनमा समेत ठूलो धक्का लाग्ने निश्चित रहेको निर्माण व्यवसायी बताउँछन् ।