विजयपुर । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ‘वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३’ महोत्सव सुरु भएको छ ।
बिहीबारदेखि विद्यार्थी तथा युवापुस्तामा विज्ञान र प्रविधिप्रति रुचि बढाउँदै आगामी दिनमा वैज्ञानिक उत्पादन गर्ने उद्देश्यसहित जिल्लामा पहिलोपटक वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी महोत्सवको आयोजना गरिएको हो ।
कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, शुभम् फाउन्डेसन र हिमालयन माध्यमिक विद्यालय सोल्माले संयुक्त रूपमा आयोजना गरेको महोत्सवमा ८२ वटा स्टल राखिएको छ । वैशाख ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा खोटाङका २१ माध्यमिक विद्यालयका ६४ वटा तथा राजधानीसहित बाहिरी जिल्लाका १५ वटा विद्यालयका १८ वटा स्टल रहेको आयोजक समितिका स्टल संयोजक भूपाल राईले जानकारी दिए ।
स्थानीय स्रोतसाधन प्रयोग गरेर आयोजना गरिएको महोत्सवमा परियोजना प्रतिस्पर्धासमेत गराइने आयोजकले जनाएको छ । नगरपालिकाभित्र सञ्चालित सबै माध्यमिक तहका विद्यालय तथा देशभरका विद्यार्थीको सहभागिता रहेको महोत्सवको परियोजना प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालय तथा विद्यार्थीलाई क्रमशः नगद २० हजार, १० हजार र पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ ।
प्रदर्शनीमा विद्यार्थीले तयार पारेका विज्ञानसम्बन्धी परियोजना, एआइ प्रविधिमा आधारित नमूना प्रस्तुति तथा अन्तरक्रियात्मक स्टलहरू राखिएको महोत्सव आयोजक समितिका संयोजक एवं शुभम् फाउन्डेसनका कार्यकारी निर्देशक सूर्यबहादुर राईले जानकारी दिए । “पाँच दिनसम्म सञ्चालन हुने प्रदर्शनीले विद्यार्थीमा सिर्जनशील सोचको विकास हुने र ग्रामीण क्षेत्रमा विज्ञान तथा प्रविधिसम्बन्धी ज्ञान र सीपको विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरेका छौँ । महोत्सवमा पिपुल्स च्वाइस अवार्डको व्यवस्थासमेत गरिएको छ”, उनले भने, “प्रदर्शनीको पहिलो दिनमै एक हजारभन्दा बढी अवलोकनकर्ताले भोट गरेका छन् । अवलोकनकर्ताको भोटको आधारमा उत्कृष्ट स्टललाई पुरस्कृत गरिन्छ । त्यसले विद्यार्थीहरू उत्साहित भएका छन् ।”
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम् फाउन्डेसनमा आयोजना गरिएको महोत्सवमा रोबो–कार रेसमा प्रथम हुनेलाई नगद १५ हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई पाँच हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । महोत्सवमा मोस्ट प्राक्टिकल इनोभेसन अवार्डअन्तर्गत नगद पाँच–पाँच हजार रुपैयाँ प्रदान गरिने संयोजक राईले जानकारी दिए ।
पाँच दिनसम्म सञ्चालन हुने महोत्सवमा विद्यार्थीहरूबीच एआइसम्बन्धी निबन्ध लेखन प्रतियोगितासमेत आयोजना गरिएको आयोजकले जनाएको छ । निबन्ध लेखन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमशः नगद १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ प्रदान गरिने हिमालय माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सप्तमणि राईले बताए ।
जिल्लामा पहिलोपटक आयोजना गरिएको वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी महोत्सवमा नाष्टका वैज्ञानिकहरूसँग विद्यार्थीको प्रत्यक्ष कुराकानी तथा प्रशिक्षण, धिरज राईलगायतका राष्ट्रियस्तरका चर्चित कलाकारको साङ्गीतिक प्रस्तुति राखिएको आयोजकले जनाएको छ । महोत्सवमा आएका नाष्टका वैज्ञानिकसँगको प्रत्यक्ष कुराकानी तथा प्रशिक्षणले विज्ञान, प्रविधि र नवप्रवर्द्धनका क्षेत्रमा रुचि राख्ने विद्यार्थीका लागि थप प्रोत्साहन मिल्ने दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए ।
महोत्सवमा काठमाडौँका आठ तथा भक्तपुर, काभ्रेको धुलिखेल र विराटनगरका एक–एकवटा विद्यालयले सहभागिता जनाएको आयोजकले जानकारी दिएको छ । खोटाङ प्रदेशसभा १ (१)का प्रदेशसभा सदस्य एवं कोशी प्रदेश सरकारका निवर्तमान सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’ र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)का उपकुलपति डा. दिलीप सुब्बाले संयुक्त रूपमा उद्घाटन गरे । रासस