धरान । अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहको आयोजनामा पुस्तक गोकार्पण, परिचर्चा, सिर्जना वाचन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका सभापति सुरेन्द्र लिम्बू (परदेशी)रहेका थिए भने प्रमुख अतिथिका रूपमा वरिष्ठ भाषाविद् टङ्कप्रसाद न्यौपाने रहेका थिए ।
कार्यक्रममा समूहले नियमित प्रकाशन गर्दै आएको ‘परदेशी बिम्बहरू’ को १७ औं संस्करण लोकार्पण गरिएको थियो । पुस्तकबारे उपप्राध्यापक शुभाषचन्द्र न्यौपानेले परिचर्चा गरेका थिए । सो अवसरमा कवि कविता राईलाई नगद १५ हजारसहित पुरस्कृत गरियो । यस्तै संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष तथा साहित्यकार भीम खतिवडालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा कवि भवानी खतिवडा, “२१ स्कुलमा कविता सिजन–३” की विजेता दिया मादेन, कवि तिला लेकाली, रोमनाथ ढुङ्गेल, मिश्रा गुरुङलगायतले आफ्ना रचना प्रस्तुत गरेका थिए ।
समालोचक तथा साहित्यकार गोपालप्रसाद भण्डारीले नेपाली साहित्यको वर्तमान अवस्था र सम्भावनाबारे चर्चा गरेका थिए ।
यसैगरी कार्यक्रममा कवि÷साहित्यकार प्रकाश दिप्याली, साहित्यकार मिश्रा गुरुङ, धरान उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष नेत्र काफ्ले, गजलकार खेमराज आचार्य र रोमनाथ ढुङ्गानालगायत साहित्यप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रमले साहित्यिक सिर्जनशीलता प्रवद्र्धन गर्दै नयाँ तथा पुराना सर्जकबीच अन्तरक्रिया र अनुभव आदानप्रदानको महत्वपूर्ण मञ्च प्रदान गरेको आयोजकले जनाएको छ ।