विराटनगर । पर्यटक (टुरिस्ट) भिसामा नेपाल आएर गैरकानूनीरूपमा धर्म प्रचार तथा प्रशिक्षणमा संलग्न ६ जना सिङ्गापुरका नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सो समूहका मुख्य योजनाकार कोह वी हकसहित ६ जना छन् । मोरङ प्रहरीले उनीहरूलाई शनिबार विराटनगरबाट पक्राउ गरेको हो ।
विराटनगर–१२ स्थित होटल इस्टर्न स्टारको सभाहलमा शनिबार बिहान गोप्यरूपमा लाफिङ बुद्धसम्बन्धी धार्मिक कार्यक्रम र प्रशिक्षण सञ्चालन गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी लीलाराज लामिछानेले जानकारी दिए ।
पक्राउ पर्ने अन्यमा लोह ली पेङ, ली बेङ एन, लोह ली तियान, ओङ चिउ कोक र चिउ टेक फोक रहेका छन् ।
अनुसन्धानका क्रममा समूहले नेपालमा लामो समयदेखि सङ्गठितरूपमै धार्मिक गतिविधि गर्दै आएको खुलेको छ । समूहका मुख्य व्यक्ति कोह वी हक सन् २०१६ यता मात्र ३६ पटक नेपाल ओहोरदोहोर गरेको राहदानी (पासपोर्ट) को रेकर्डबाट देखिएको छ । उनीहरूले यसअघि उदयपुरमा समेत घर भाडामा लिएर शङ्कास्पद गतिविधि गरेको सुरक्षा स्रोतको दाबी छ ।
प्रहरीका अनुसार होटलको हलमा लाफिङ बुद्धको मूर्ति राखेर १६ वर्षमुनिका १२ जना किशोरी र केही महिलाहरूलाई प्रशिक्षण दिइरहेको अवस्थामा उनीहरू फेला परेका थिए । “पर्यटक भिसामा आएका विदेशीले होटलको कोठाभित्र पर्दा लगाएर अत्यन्तै गोप्य र शङ्कास्पद रूपमा प्रशिक्षण दिइरहेको पाइयो” स्रोतले भन्यो, “यो अध्यागमन कानूनको गम्भीर उल्लङ्घन हो ।”
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले कानूनविपरीत काम गरेकाले उनीहरूलाई पक्राउ गरिएको पुष्टि गरे । “पर्यटक भिसामा आएका विदेशी नागरिकले सरकारको अनुमतिविना यसरी पढाउन वा धर्म प्रचार गर्न पाउँदैनन्” कोइरालाले भने, “अध्यागमन कानून उल्लङ्घन गरेकाले उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।”
पक्राउ परेकाहरूलाई थप अनुसन्धान र कारबाहीका लागि काठमाडौंस्थित अध्यागमन विभाग पठाउने तयारी भइरहेको मोरङ प्रहरीका डिएसपी लामिछानेले जानकारी दिए । उनीहरूलाई विराटनगर विमानस्थलबाट हवाई मार्ग हुँदै साढे ५ बजे काठमाडाँै पठाएको बताए । “थप अनुसन्धानको काम उतैबाट हुनेछ”–उनले भने ।
के हो लाफिङ बुद्ध ?
चिनियाँ बौद्ध परम्परामा सुख र समृद्धिको प्रतीक मानिने ‘लाफिङ बुद्ध’ को नाममा पछिल्लो समय केही नवधार्मिक सम्प्रदायहरू सक्रिय छन् । यस्ता समूहले विशेषगरी विपन्न वर्ग, महिला र बालबालिकालाई लक्षित गरी ध्यान र आध्यात्मिक ज्ञानका नाममा धर्मान्तरणसहितका गतिविधि गर्ने गरेको पाइन्छ । विराटनगरमा भेला गरिएका अधिकांश साना किशोरीहरू हुनुले पनि यो समूहको उद्देश्यमाथि थप शङ्का उब्जाएको छ ।