विजयपुर । खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने भएको छ ।

गाउँपालिकाले विद्यमान पाठ्यक्रमअनुसार दुई दिनको सार्वजनिक बिदाले निर्धारित पाठ्यभार पूरा गर्न नसकिने जनाएको छ । पालिकाले वैशाख १३ गतेदेखि सबै विद्यालयमा अध्ययन अध्यापन गर्ने निर्णय गरेको हो । वैशाख १० गतेसम्म भर्ना अभियान र १३ गते आइतबारदेखि पठनपाठन सञ्चालन गर्ने गाउँपालिकाले जारी विज्ञप्तिमा उल्लेख छ । पालिकाका अनुसार मङ्गलबार बसेको गाउँ शिक्षा समितिको बैठकले निर्णय गरेको हो ।

नेपाल सरकार, मन्त्रिपरिषद्को गत चैत १२ गतेको बैठकले शनिबार र आइतबार हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले गत चैत २६ गते ७७ वटै जिल्लामा सरकारले दिएको निर्देशन पालना गर्न पत्राचार गरेको थियो । पालिकामा दश स्थानीय तहमा ४८३ सामुदायिक तथा १६ वटा निजी विद्यालय सञ्चालनमा छन् ।