विजयपुर । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रस्तावित ‘छाता प्रतिष्ठान ऐन’ मा नराख्न माग गरेको छ ।
प्रतिष्ठानका सम्पूर्ण फ्याकल्टीहरुले प्रतिष्ठानले प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य विज्ञानसम्बन्धी विशिष्ट प्रकृतिको शैक्षिक संस्था भएकाले सबै स्वास्थ्य संस्थालाई एउटै कानुनअन्तर्गत राख्ने प्रयास उपयुक्त नहुने जनाएको छ । विज्ञप्तिमा प्रतिष्ठानले नेपालमा स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर जनशक्ति उत्पादन, गुणस्तरीय स्वास्थ्य सेवा तथा अनुसन्धान प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरिएको छ । विज्ञप्तिमा प्रतिष्ठानले समुदायमा आधारित स्वास्थ्य शिक्षा, एकीकृत पाठ्यक्रम तथा समस्या–आधारित सिकाइ प्रणालीजस्ता नवीन अभ्यासमार्फत चिकित्सा शिक्षामा आफ्नो छुट्टै पहिचान स्थापित गरेको उल्लेख छ । प्रतिष्ठानबाट उत्पादन भएका एमबीबीएस, बीडीएस, नर्सिङ, एमडी/एमएस तथा सुपर स्पेसियालिटी तहका जनशक्तिले देश तथा विदेशमा सेवा दिइरहेका पनि जनाइएको छ ।
विज्ञप्तिमा ‘एक चिकित्सक, एक स्वास्थ्य संस्था’ को अवधारणा स्थापना कालदेखि नै कार्यान्वयन गर्दै आएको उल्लेख गर्दै सबै संस्थालाई एउटै ढाँचामा राख्दा संस्थागत विविधता र प्रतिस्पर्धात्मक गुणस्तरमा असर पर्न सक्ने चिन्ता व्यक्त गरेको छ । प्रतिष्ठानले सेवा प्रवाहको दृष्टिले पनि दैनिक करिब तीन हजार बिरामी र पाँच सयभन्दा बढी विद्यार्थीलाई सेवा तथा अध्ययनको अवसर प्रदान गर्दै आएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गत गठित अध्ययन कार्यदलले समेत प्रतिष्ठानलाई छाता प्रतिष्ठान ऐनअन्तर्गत समेट्ने अवधारणा उपयुक्त नहुने निष्कर्ष दिएको विज्ञप्तिमा उल्लेख छ । प्रतिष्ठानका पदाधिकारीहरूले नेपालको संविधानले अंगीकार गरेको बहुलवादको मर्मअनुसार विशिष्ट ऐतिहासिक योगदान र मौलिकता बोकेको संस्थालाई छुट्टै पहिचानसहित सञ्चालन गर्न दिनुपर्ने बताएका छन् ।

