सिरहा । सशस्त्र प्रहरी बल नेपालले सिरहाको सीमावर्ती क्षेत्रमा ठूलो परिमाणमा अवैध सामानसहित एक मालवाहक गाडी र दुई जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्लाको नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा क्षेत्रमा विशेष गस्तीका क्रममा नेपालबाट भारततर्फ अवैध रूपमा लैजान लागिएको सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं ७ गण सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजङ्ग थापाका अनुसार विशेष सुराकीका आधारमा गण मुख्यालयबाट खटिएको ३५ सदस्यीय टोलीले शनिबार स १ ख ५३५ नम्बरको टाटा टुटोन गाडीलाई शङ्कास्पद अवस्थामा रोकी जाँच गरेको थियो ।

जाँचका क्रममा गाडीमा लुकाईछिपाई राखिएको कस्मेटिक सामग्री, मन्जन (टुथपेस्ट) तथा ओखर फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएको सामान र गाडीको अनुमानित बजार मूल्य करिब ४० लाख रुपैयाँ रहेको बताइएको छ । घटनामा संलग्न रहेको आरोपमा नवराजपुर गाउँपालिका–५ निवासी अन्दाजी ५० वर्षीय राजेशकुमार यादव र ३९ वर्षीय आनन्द यादवलाई पक्राउ गरिएको छ ।

पक्राउ परेका दुवै व्यक्ति, बरामद सामान तथा गाडीलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी उपरीक्षक थापाले जानकारी दिए । सीमा क्षेत्रमा हुने यस्ता अवैध गतिविधि र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीले निगरानी र गस्तीलाई थप तीव्र बनाएको उनको भनाइ छ । रासस