इनरुवा । सुनसरीको इनरुवा–३ सखुवागाछीमा ३३ औँ मदन–आश्रित स्मृति सभा तथा प्रतिमामा माल्यार्पण गरी स्व. मदन भण्डारी र जीवराज आश्रितलाई स्मरण गरिएको छ ।
कार्यक्रममा नेकपा (एमाले)सँग सम्बद्ध विभिन्न तह र तप्काका नेता–कार्यकर्ता, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रामप्रसाद मेहेता, कोशी प्रदेशसभा सदस्यहरू रमेश बस्नेत र विजय राई, इनरुवा नगरपालिकाका पूर्व नगर प्रमुख तथा एमाले नेता खेमराज पोखरेल, नेकपा (एमाले)का पूर्व केन्द्रीय अनुशासन आयोग सदस्य पोष्ट नेपाल, एमाले सुनसरी जिल्ला अध्यक्ष पर्शुराम यादव, कोशी प्रदेश कमिटीका सदस्यहरू, जिल्ला तथा नगर तहका नेता–कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
स्मृति सभामा जिल्ला अध्यक्ष पर्शुराम यादव, युवा नेता लोकेश निरौला तथा सामाजिक विकास मन्त्री रामप्रसाद मेहेताले मदन भण्डारी र जीवराज आश्रितले नेपालको कम्युनिष्ट आन्दोलनमा पु¥याएको योगदानबारे चर्चा गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता निरौलाले मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको अवधारणाले नेपालको कम्युनिष्ट आन्दोलनलाई दिशा दिएको उल्लेख गरे । उनले कम्युनिष्ट विचार, नीति, कार्यक्रम र कार्यशैलीलाई आत्मसात गर्दै जनतामुखी ढङ्गले पार्टीलाई अघि बढाउन आजको दिनले प्रेरणा दिनुपर्ने बताए ।
कार्यक्रमको अध्यक्षता मदन भण्डारी स्मारक संरक्षण समाजका अध्यक्ष सरोज बरालले गरेका थिए । उनले ३३ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा आगामी जेठ ९ गते शनिबार इनरुवामा ‘नेपालको कम्युनिष्ट आन्दोलनमा देखा परेका चुनौती र समाधानका उपायहरू’ विषयक कार्यशाला आयोजना गरिने जानकारी दिँदै सहभागिताका लागि सबैलाई निमन्त्रणा गरेका थिए ।
यसैबीच, स्मृति सभामा सहभागी कार्यकर्ताहरूले नेकपा (एमाले) सुनसरी जिल्ला पार्टी कार्यालय परिसरमा सरसफाइ कार्यक्रमसमेत सञ्चालन गरेका थिए ।