भद्रपुर । झापाका विभिन्न स्थानबाट सिटी सफारी र तिनका ब्याट्रीहरू चोरी गर्ने कार्यमा संलग्न एक ठुलो गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा चोरी कार्यमा संलग्न झापा मेचीनगरका २२ वर्षीय अभिषेक चौधरी (रूपक कुमार सरदार), बिर्तामोडका ३१ वर्षीय मोहम्मद सलिम र मेचीनगरकै ३० वर्षीय अविशेक उराउ रहेका छन् । यसैगरी, चोरीका सफारी र ब्याट्रीहरू खरिद गर्ने तथा व्यवस्थापन गर्ने कार्यमा संलग्न अन्य ७ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा बिर्तामोडका नसिम अक्तर, भारत बिहार घर भई अर्जुनधारा बस्ने एमडि जिगर आलम, अर्जुनधाराका सञ्जय चौधरी, मेचीनगरका डिकेश राजवंशी र भारत पश्चिम बङ्गाल स्थायी घर भई मेचीनगरका विभिन्न क्षेत्रमा बस्ने पान बर्मु, मो. साबित मुल्ला र आख्तरुल शेख रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले सीसीटीभी फुटेजको सहायतामा पहिचान गरी चोरीमा संलग्न तथा चोरीका सामान खरिद गर्ने कार्यमा संलग्न १० जना आरोपीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।
भद्रपुर, बिर्तामोड र काँकडभिट्टा लगायतका क्षेत्रका पार्किङ स्थलहरूबाट विभिन्न मिति र समयमा सिटी सफारीहरू चोरी भएको भन्दै पीडितहरूले दिएको उजुरीका आधारमा प्रहरीले खोजतलास तथा अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा प्रहरीले चोरी गरिएका ७ थान सिटी सफारी, २४ थान ब्याट्री र १ थान चार्जिङ कन्ट्रोलर बरामद गरेको छ । जसको कुल बजार मूल्य करिब २१ लाख ५५ हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले विभिन्न कवाडी पसलहरू तथा आरोपीको कोठाबाट ब्याट्रीहरू बरामद गरेको थियो । प्रहरीले मेचीनगर र अर्जुनधारा क्षेत्रमा सञ्चालित कवाडी पसलबाट ब्याट्री बरामद गरेको हो भने फेला परेका सिटी सफारीहरूमा प्रदेश १–०१–००२ ह १६३०, मे १ ह १०५५, प्रदेश १–०१–००१ ह ५५२६, प्रदेश १–०१–००२ ह ४९२०, प्रदेश १–०१–००२ ह ३७८४, प्रदेश १–०१–००१ ह ८७९८ र प्रदेश १–०१–००२ ह २१७ नम्बर प्लेटका रहेका छन् ।
पक्राउ परेका सबै अभियुक्तहरू विरुद्ध मुलुकी फौजदारी अपराध संहिता, २०७४ अन्तर्गत चोरी कसुरमा थप अनुसन्धान अघि बढाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काका अनुसार अभियुक्तहरूलाई हिरासतमा राखी अनुसन्धान गर्नका लागि झापा जिल्ला अदालत झापाबाट ५ दिनको म्याद थप गरिएको छ । यस घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापामा ३ वटा, इलाका प्रहरी कार्यालय काँकडभिट्टामा ३ वटा र इलाका प्रहरी कार्यालय अनारमनीमा १ वटा गरी जम्मा ७ वटा जाहेरी दर्ता भई कानुनी प्रक्रिया अगाडि बढिरहेको छ ।
अधिकांश चालकलाई मान्छे लिन अदालत जाऔं भन्दै चन्द्रगढी लगेर झुक्याउँदै चोरी गर्ने गरिएको थियो ।