विजयपुर । सुनसरीको धरान १६ स्थित यूएन. नवोदय कलेजले आगामी शैक्षिक सत्र २०८३ मा भर्नाका लागि कोटा निर्धारण गरेको छ ।

मंगलबार पत्रकार सम्मेलन गरेर कलेजले नयाँ भर्ना तथा विशेष छात्रवृत्ति कार्यक्रम सार्वजनिक गर्दै गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राखेर सीमित कोटा निर्धारण गरिएको जनाएको हो । कलेजका प्रिन्सिपल डम्बर कुमार तुम्बापोका अनुसार कक्षा ११ को होटल म्यानेजमेन्टतर्फ १ सय ४०, विज्ञान सङ्कायमा ७०, कम्प्युटर साइन्समा ३० र म्यानेजमेन्ट सङ्कायमा ३५ कोटा निर्धारण गरेको हो । उनले भने, “पहिलो आउनेलाई प्राथमिकताको नीति लिइएको छ ।” कलेजले विद्यार्थीका लागि छात्रवृत्तिको घोषणा गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) मा ३.६१ देखि ४.० जी.पी.ए. ल्याउने विद्यार्थीलाई कक्षा ११ मा शतप्रतिशत छात्रवृत्ति दिने जनाएको छ । विद्यालय टपर र प्रवेश परीक्षा (इन्ट्रान्स) मा उत्कृष्ट हुने विद्यार्थीलाई पूर्ण रूपमा निःशुल्क भर्ना गरिनेछ ।

कलेजका अध्यक्ष ज्ञानेश्वर झाले नाफा मात्र नभई दिगो सेवालाई प्राथमिकता दिएको बताए । खेलकुदका विभिन्न विधामा स्थानीयदेखि राष्ट्रिय स्तरसम्म विजयी खेलाडी, एस.ई.ई. आइडललगायतका प्रतियोगिताका विजेता, र आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि समेत विशेष छात्रवृत्तिको व्यवस्था गरिएको कलेजले जनाएको छ ।

कलेजले होटल म्यानेजमेन्ट, विज्ञान र कम्प्युटर प्रयोगशालाहरू थप गरेको छ । सुविधायुक्त कक्षाकोठा, समृद्ध पुस्तकालय, ई–लाइब्रेरी र स्वास्थ्य डेस्कको व्यवस्था रहेको कलेजमा अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । व्यावहारिक शिक्षालाई जोड दिँदै सैद्धान्तिक ज्ञानका साथै प्रोजेक्ट वर्क, इन्टर्नसिप, सीप विकासका तालिम तथा नेतृत्व विकासका विविध कार्यक्रम सञ्चालन गरिने कलेजको दाबी छ ।

देश–विदेशका स्टार होटलहरूमा इन्टर्नसिप र जब प्लेसमेन्टको अवसर, होटल म्यानेजमेन्ट विद्यार्थीका लागि निःशुल्क ल्यापटप, ‘पढ्दै कमाउँदै’ कार्यक्रम, व्यावसायिक केक हाउस र बारिस्ता स्कुलको सुविधा जस्ता विशेषताले आफूलाई धरानको एक मात्र कलेजका रूपमा स्थापित गरेको कलेजले जनाएको छ ।