धरान । सरकारले ल्याएको ‘नयाँ भन्सार नीति’ प्रति धरानका उद्योगी व्यवसायीहरूले ‘राम्ररी तयारी नगरी’ ल्याएको बताएका छन् । 

सुनसरीको धरानमा सुनसरी उद्योग वाणिज्य सङ्घले मङ्गलबार आयोजना गरेको ‘एमआरपी÷नयाँ भन्सार नीति÷मूल्य पारदर्शिता एवम् बधाई तथा शुभकामना कार्यक्रम’ मा धरानका उद्योगी व्यवसायीहरूले तयारी नगरी ल्याएको बताएका हुन् । धरानका कपडा व्यवसाय गर्दै आएका जीवनकुमार अग्रवालले आफ्नो अभिमत राख्ने क्रममा भने, “कुनै सस्तो कपडा हुन्छ, कुनै महँगो कपडा हुन्छ; त्यस्तोमा कसरी एमआरपी लगाउने ?” उनले उद्योगले लगाउने हो कि बिक्रेताले लगाउने भन्ने अन्यौल रहेको बताए । उनले सरकारले तयारी नगरी ल्याउँदा व्यवसायीमा समस्या भएको बताए । 

यस्तै हार्डवेयर व्यवसायी एवम् उद्योगी नवीन राजभण्डारीले पनि भन्सार गरेर ल्याउँदाखेरि एमआरपी कसरी लागू गर्ने भन्ने प्रश्न उठाए । उनले उदाहरण प्रस्तुत गर्दै भने, “कुनै टायल ५० रुपैयाँ स्क्वायर फुटमा पनि आउँछ कुनै डेढ सय रुपैयाँमा आउँछ । अब कसरी एमआरपी लगाउने ?” अधिकांश व्यवसायीहरूको तर्क नै सरकारले सतही ढङ्गले काम गरेको तर्क गरेका थिए । 

धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले एमआरपी मूल्य उत्पादकदेखि उपभोक्तासम्म जोडिएको बताए । उनले हालै यो विषयमा नेपाल सरकारले निर्देशन गरेअनुसार धेरै चर्चामा आएको भए पनि विगतदेखि नै यो अभ्यास चल्दै आएको बताए । “भन्सारको कुरा अहिलेको सरकार आएकाले यसको चर्चा भएको हो । यस विषयमा हामीले व्यवसायी र व्यापारीलाई भन्दै आएका थियौँ । एमआरपी आवश्यक छ भन्दै आएका थियौँ ।” 

उनले व्यवसायीहरूले आफूहरूलाई असर भो भन्ने कुरा आइरहेको भए पनि यो भनेको अधिकतम् खुद्रा मूल्य भएको बताए । उनले व्यवसायीहरूले जथाभावी मूल्य राख्न नपाउने पनि बताए । उनले एमआरपी राख्न नसक्ने अवस्था भएमा मूल्य सूची राखेर बेच्नका लागि आग्रह गरे । “कतिपय यस्ता व्यापार हुन्छन्, जसमा एमआरपी राख्न नसकिएला तर मूल्य सूची राखेर बेच्ने गर्नुपर्छ । त्यसका लागि सरकारले नीति बनाउला”–उनले भने । 

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाले सरकार र व्यवसायीको सम्बन्ध नङ र मासु जत्तिकै हुने बताए । उनले ऐन कानूनको कुरा आइरहेको सन्दर्भबारे बताउँदै भने, “व्यापारीहरू सही बाटोमा हिँड्दै गर्दा गलत क्रियाकलाप र व्यवहार गर्नेले सही काम गर्नेलाई अप्ठ्यारो पार्छ । त्यसकारण कारबाहीको कुरा गर्ने हो ।” उनले एमआरपीको कुराका सन्दर्भमा व्यापारीहरूले नागरिको भरोसा र विश्वासलाई पनि जोड्नुपर्ने बताए । यस क्रममा हालै नेपाल उद्योग वाणिज्य महासङ्घमा केन्द्रीय सदस्यमा निर्वाचित भएका सुनसरी उद्योग वाणिज्य सङ्घ सुनसरीका अध्यक्ष गोपाल श्रेष्ठ र महासङ्घको प्रदेश सदस्यमा निर्वाचित जयप्रकाश शर्मालाई सम्मान पत्र प्रदान गर्दै बधाई ज्ञापन गरिएको छ ।