धरान । नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाको १४ औँ साधारणसभा इटहरीमा बुधबार सम्पन्न भएको छ ।
साधारणसभाका क्रममा विभिन्न विधामा चार जना पत्रकारहरूलाई सम्मानित गरिएको छ । कार्यक्रममा चन्द्रलक्ष्मी स्मृति सिर्जनशील पत्रकारिता पुरस्कारबाट शशी कोइराला, प्रेस स्वतन्त्रता सेनानी याम प्रधान स्मृति पत्रकारिता पुरस्कारबाट विवेक भट्टराई, डम्बरबहादुर कार्की स्मृति पत्रकारिता पुरस्कारबाट रश्मी प्रधान र रेवन्त सुवेदी स्मृति पत्रकारिता पुरस्कारबाट सुनिल चौधरीलाई सम्मानित गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घकी केन्द्रीय अध्यक्ष निर्मला शर्मालगायत सम्बन्धित पुरस्कार स्थापनाकर्ताहरूले पुरस्कार वितरण गरे ।
महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेको अध्यक्षतामा बसेको सभामा साङ्गठानिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको छ । कार्यक्रममा सचिव विनय बाह्रकोटी र कोषाध्यक्ष विवेक रेग्मीले साङ्गठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।
उनीहरूको प्रतिवेदनमाथि महासङ्घका सल्लाहकार गणेश निरौला, निवर्तमान अध्यक्ष जनकऋषि राई, अग्रज पत्रकार महेश श्रेष्ठ, सुविद गुरागाईं, पत्रकार तीर्थ कार्की, खेमचन्द्र अधिकारीले जिज्ञासा तथा सुझाव प्रस्तुत गरेका थिए ।