विराटनगर । भारतले सन् २०२६ को सेप्टेम्बरसम्मका लागि चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि चिनीमा आधारित नेपाली उद्योगहरू गम्भीर सङ्कटतर्फ धकेलिने देखिएको छ । भारतको यो निर्णयसँगै नेपालका जुस, बिस्कुट, चकलेट तथा कन्फेक्सनरी उद्योगहरू कच्चा पदार्थको अभावमा बन्द हुनसक्ने चिन्ता उद्योगीहरूले गरेका छन् ।
यसअघि नै प्लास्टिक उद्योगहरू कच्चा पदार्थको अभावले थलिँदै गएको अवस्थामा खाद्य उद्योगहरूमा पनि उस्तै सङ्केत देखिएको हो । मध्यपूर्वमा जारी युद्धका कारण प्लास्टिकजन्य कच्चा पदार्थको आपूर्ति प्रभावित हुँदा अधिकांश प्लास्टिक उद्योगले आफ्नो उत्पादन ७० प्रतिशतसम्म घटाइसकेका छन् । यसबाट हजारौँ मजदुरको रोजगारीसमेत गुम्ने खतरा बढेको छ ।
नेपाल चिनी उत्पादक सङ्घले भने हाल बजारमा चिनीको पर्याप्त मौज्दात रहेको दाबी गरेको छ । सङ्घका अनुसार चालु क्रसिङ सिजनमा सञ्चालनमा आएका १३ वटा उद्योगले १ लाख ९० हजार ८ सय ७० मेट्रिक टन चिनी उत्पादन गरेका छन् । जसमध्ये १ लाख ८ हजार मेट्रिक टन अझै मौज्दात छ भने व्यवसायीहरूसँग थप २० हजार मेट्रिक टन चिनी रहेको अनुमान छ ।
यद्यपि, उद्योगीहरू भने नेपाली उत्पादनले मात्रै दीर्घकालीन माग धान्न नसक्ने बताउँछन् । सीमावर्ती भारतीय बजारबाट अनौपचारिक रूपमा आउने चिनी नेपाली बजारको ठूलो आधार रहेकोमा सरकारले भन्सारमा गरेको कडाइ र भारतको प्रतिबन्धले गर्दा आपूर्ति सन्तुलन बिग्रिएको उनीहरूको भनाइ छ ।
चाडबाडमा चिनीको हाहाकार हुनसक्ने
चकलेट तथा बिस्कुट उद्योगी महेश जाजुले आगामी पाँच महिनापछि समस्या गम्भीर बन्नसक्ने चेतावनी दिएका छन् । “अहिलेसम्म ६० देखि ७० हजार मेट्रिक टन चिनी आयात भइसकेकाले केही समय त धान्ला, तर दसैं–तिहारको समयसम्म आइपुग्दा चिनी अभावले उत्पादन नै रोकिन सक्छ”–उनले भने ।
नेपाल उद्योग परिसङ्घ कोशीका अध्यक्ष पवन सारडाले पनि भारतको निर्णयले प्रत्यक्ष असर पार्ने बताएका छन् । नेपालमा आवश्यक मात्रामा चिनी उत्पादन नहुने भएकाले भारतीय प्रतिबन्धले उत्पादन क्षेत्रमा नकारात्मक प्रभाव पार्ने उनको विश्लेषण छ ।
किन रोक्यो भारतले निर्यात ?
भारतमा बेमौसमी वर्षा र मौसम प्रतिकूलताका कारण उखु उत्पादनमा कमी आएको छ । सन् २०२५–२६ मा भारतमा चिनीको उत्पादन २ करोड ७५ लाख टन हुने अनुमान गरिएको छ, जबकि त्यहाँको वार्षिक माग २ करोड ८० लाख टन छ । आन्तरिक माग उत्पादनभन्दा बढी भएपछि भारत सरकारले आफ्नो बजार जोगाउन निर्यातमा रोक लगाएको हो ।
नेपाली उद्योगीहरूले सम्भावित सङ्कट टार्न सरकारसँग तत्काल पहल गर्न माग गरेका छन् । भारतबाट आयात सहज नहुने अवस्थामा तेस्रो मुलुकबाट चिनी आयात गर्न भन्सार सहुलियत र प्रक्रियामा सहजीकरण गरिदिन उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।