काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय काठमाडौँका अनुसार पक्राउ पर्नेहरूमा रामेछाप, रामेछाप नगरपालिका–८ घर भएका ३३ वर्षीय रमेशकुमार विश्वकर्मा, काठमाडौँ महानगरपालिका–१० बस्ने गोरखा घर भएका ३५ वर्षीय चन्द्रबहादुर गुरुङ रहेका छन् । यस्तै काठमाडौँ महानगरपालिका–२६ बस्ने गोरखा घर भएका ३० वर्षीय दिपेश गुरुङ, गोरखा घर भएका २४ वर्षीय सौगात गुरुङ, ललितपुर गोदावरी नगरपालिका–२२ बस्ने पाँचथर घर भएका ४८ वर्षीय सुर्यप्रकाश खजुम र भक्तपुर सूर्यविनायक नगरपालिका–३ बस्ने काभ्रे घर भएका ३३ वर्षीया शान्ती श्रेष्ठ रहेका  छन् ।

पक्राउमध्ये रमेशले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख २५ हजार रुपैयाँ, चन्द्रबहादुरले टर्की पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ९५ हजार रुपैयाँ लिएको आरोप छ ।

यस्तै दिपेश र सौगातले टर्की पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट ८६ लाख २२ हजार ५ सय ७० रुपैयाँ, सूर्यप्रकाशले साइप्रस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख ५० हजार रुपैयाँ र शान्तीले लिथुआनिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ९३ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।

यस्तै स्वीकृति नलिई राहदानी विदेश लैजान खोज्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तपश्या एचआर प्रा.लि.का सञ्चालक काठमाडौँ महानगरपालिका–२६ बस्ने इलाम घर भएका ४८ वर्षीय मुकेश भण्डारी र बूढानिलकण्ठ नगरपालिका–३ बस्ने सिरहा घर भएका ४८ वर्षीय अजित श्रेष्ठ रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत जान लागेका अजितको साथबाट विभिन्न व्यक्तिहरूको राहदानी ३७ थान फेला पारी पक्राउ गरेको थियो ।

थप अनुसन्धानको क्रममा उक्त राहदानीहरू मुकेशले रोमानिया देशको भिषा प्रोसेसिङका लागि भारत पठाएको खुल्न आएपछि मुकेशलाई समेत प्रहरीले पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा मुकेशले राहदानी विदेश लैजान वैदेशिक रोजगार विभागबाट अनुमति लिनुपर्नेमा विभागबाट अनुमति नै नलिएको खुल्न आएको छ । उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।