विजयपुर । सुनसरीको धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसका कर्मचारीहरूलाई अतिरिक्त सुविधा दिलाउन प्रपञ्च गरिएको पाइएको छ ।

विश्वविद्यालयको कार्यकारी निर्देशकको निर्देशनअनुसार क्याम्पसले स्थायी र अस्थायी गरी २६ जना कर्मचारीलाई थप एक घण्टाको अतिरिक्त भत्ता दिइरहेको हो । यो कार्य विगतदेखि नै हुँदै आइरहेको थियो भने वर्तमान सरकारले समय फेरबदल गर्दा पनि अतिरिक्त समय थपिएको पाइएको छ । त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस महेन्द्रमा विगतको निर्णयलाई आफूअनुकूल व्याख्या गरिएको छ । विगतमा सरकारले कार्यालय समय १० बजेदेखि ५ बजे कायम गरेको थियो । सो अनुरूप महेन्द्रले आफ्ना कर्मचारीलाई एक घण्टा अगावै अर्थात् ९ बजेबाटै कार्यालयमा बोलाई काम गराउने गरेको थियो । 

तर, बालेन्द्र साह सरकारले गत चैत २३ गतेदेखि लागू हुने गरी कार्यालय समय बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म र दुई दिन छुट्टी दिने निर्णय गरेको थियो । सो निर्णयानुसार कार्यालय नलगाई क्याम्पसले प्रशासनिक समय ८ बजेदेखि बनाएको छ । क्याम्पस स्रोतले भन्यो, “पहिले कार्यालय समय १० बजे हुँदा ९ बजेदेखि काम गर्थे । अहिले ९ बजे कार्यालय समय तोक्दा ८ बजे बनाइएको छ ।”

क्याम्पसमा ११ जना स्थायी कर्मचारी छन् । तीबाहेक १५ जना अस्थायी प्रकृतिका कर्मचारी छन् । ११ स्थायी कर्मचारीले अतिरिक्त एक घण्टा काम गरे सुरुवाती तलब स्केलको २० प्रतिशत थप रकम पाउने गरेका छन् । लामो समय महेन्द्र क्याम्पसमै बिताएर अवकाश जीवन बाँचिरहेका बुद्धिजीवी डा. राजेन्द्र शर्माले आफूले थाहा पाएअनुसार क्याम्पसमा कामको लोड खासै नभएको बताए । उनले भने, “कार्यालय समय अलरेडी बढेको छ । तर फेरि एक घण्टा बढाउनु चाहिँ भत्ता लिने नियत देखियो” उनले थपे, “यो एक खालको नीतिगत भ्रष्टाचार हो ।”

महेन्द्र क्याम्पसका क्याम्पस प्रमुख चन्द्रकुमार राईले त्रिभुवन विश्वविद्यालयका कार्यकारी निर्देशकको निर्णयानुसार कर्मचारीलाई अतिरिक्त एक घण्टाको भत्ता दिइरहेको बताए । क्याम्पस प्रमुख राईले भने, “कार्यकारी निर्देशकको निर्णयानुसार भत्ता दिइरहेका हौँ । बीचमा कार्यालय समयबारे नयाँ नियम आएकाले अहिले दिइँदैछ । आगामी आर्थिक वर्षदेखि भत्ता दिइँदैन । सम्झौता पनि साउनसम्मको मात्र छ ।”

क्याम्पसमा दुईजना स्थायी कर्मचारी अधिकृत तहका छन् । अन्य प्रमुख कार्यालय सहायक (नायव सुब्बा सोसरह),  कार्यालय सहायक (खरिदार सोसरह) गरेर ११ जना रहेका छन् । उनीहरूले सुरुको तलब स्केलमा अतिरिक्त समयको २० प्रतिशत पाउँदै आइरहेका छन् । अन्य कतिपय क्याम्पसहरूले १२ प्रतिशत मात्र दिइरहेको बुझिएको छ । 

यता क्याम्पसले गरेको निर्णयबारे विद्यार्थी हकहितमा काम गर्ने संस्था स्वतन्त्र विद्यार्थी युनियन अनिभिज्ञ छ । नियमतः क्याम्पसले गर्ने निर्णयहरूमा स्ववियुलाई सहभागी गराई निर्णय गर्ने प्रावधान छ । ब्लाष्टकर्मीले स्ववियु सभापति प्रशान्त राईलाई यसबारे बुझ्दा अनभिज्ञता प्रकट गरे । उनले भने, “क्याम्पसले समन्वय गरेन । खबर पनि गरेको छैन ।” उनले अतिरिक्त समयको विषयमा अनुगमन गरेर आवाज उठाउने बताए । उनले भने, “त्यसविरुद्ध लाग्छौँ । स्ववियुले मात्र नभए अन्य सङ्घ–सङ्गठनसँग पनि छलफल गर्छौं ।”