विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार प्रदेश सभाको बैठकमा ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ निर्माणको दीर्घकालीन सोचसहितको कार्यक्रम प्रस्तुत गरेका हुन् । सरकारले पहाडबाट भइरहेको तीव्र बसाइँसराइ रोक्न ‘साना सहर’ को विकास गर्नेदेखि अन्तर्राष्ट्रिय चिया सम्मेलन आयोजना गर्नेसम्मका महŒवाकाङ्क्षी योजना अघि सारेको छ ।
कोशीका हिमाली र पहाडी जिल्लाबाट तराईतर्फ हुने बसाइँसराइलाई मुख्य चुनौतीका रूपमा लिँदै सरकारले शिक्षा, स्वास्थ्य र खानेपानीको पहुँच विस्तार गरी ‘साना सहर’ विकास गर्ने घोषणा गरेको छ । सङ्घीय र स्थानीय तहसँगको समन्वयमा पहाडीभेगमा रोजगारी र आयआर्जनका अवसर सिर्जना गरी नागरिकलाई थातथलोमै टिकाउने रणनीति सरकारको छ ।
पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले २०८३ साउनदेखि २०८५ असारसम्मलाई ‘कोशी प्रदेश भ्रमण वर्ष’ मनाउने घोषणा गरेको छ । यस अवधिमा आन्तरिक र वाह्य पर्यटक आकर्षित गर्न ‘नेपाली मन, आत्मीय पन’ अभियान सञ्चालन गरिने नीतिमा उल्लेख छ । मुन्दुम ट्रेल, वराहक्षेत्र, पाथीभरा र हलेसीजस्ता धार्मिक तथा पर्यटकीय क्षेत्रलाई ‘सर्किट’ का रूपमा विकास गर्ने र विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन पहल गर्ने योजना समेटिएका छन् ।
चिया सम्मेलन र कृषि निर्यात
कृषिलाई व्यावसायिक बनाउन कोशी प्रदेशले अन्तर्राष्ट्रिय चिया सम्मेलन आयोजना गर्ने भएको छ । चिया र कफीको अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तर कायम गरी निकासी प्रवद्र्धन गर्ने र चिया परीक्षण प्रयोगशालालाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ । यस्तै झापा, मोरङ र सुनसरीलाई व्यावसायिक माछा पालनको केन्द्र बनाइने र पशुहरूमा लाग्ने खोरेत रोगमुक्त प्रदेश बनाउने अभियान चलाइनेछ । भौतिक पूर्वाधारतर्फ सरकारले केही ठूला आयोजनाको सम्भाव्यता अध्ययनलाई प्राथमिकता दिएको छ ।
चतरा–चौंरीखर्क (लुक्ला) रेलमार्ग, बहुउद्देश्यीय तमोर–लेउती सुरुङमार्ग र केचना–सगरमाथा द्रुतमार्गको अध्ययन गरिने प्रदेश प्रमुख खापुङले बताए । यस्तै ‘एक घर एक धारा’ कार्यक्रमलाई निरन्तरता दिँदै सुख्खाग्रस्त क्षेत्रमा जलाशय निर्माण गरिनेछ । प्रशासनिक सुधारका लागि सरकारले ‘ट्यालेन्ट हन्ट’ को नयाँ अवधारणा ल्याएको छ । यसबाट प्रदेशका युवा प्रतिभालाई निजामती सेवामा आकर्षित गरिनेछ । भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाउँदै मुख्यमन्त्री ड्यासबोर्डमार्फत् आयोजनाहरूको प्रत्यक्ष अनुगमन गर्ने र डिजिटल सेवालाई प्राथमिकता दिने सरकारको तयारी छ ।
सामाजिक सुरक्षा र शिक्षा
शिक्षा क्षेत्रमा ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई निरन्तरता दिइनेछ भने धनकुटामा चिकित्साशास्त्र (मेडिकल) विधाको शैक्षिक कार्यक्रम सुरु गर्ने प्रक्रिया अगाडि बढाइने नीतिमा उल्लेख छ । सीमान्तकृत समुदायका छोरीहरूका लागि ‘सक्षम छोरी’ र युवाका लागि ‘म अघि बढ्छु’ अभियानलाई थप प्रभावकारी बनाइनेछ ।
शैलजा आचार्य कोशी प्रादेशिक अस्पतालमा हृदय केन्द्र (मुटु रोग सेवा) विस्तार गर्ने र प्रदेशका अस्पताललाई कम्तीमा ५० शय्यामा स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ । विराटनगरको बैजनाथपुरमा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउन सङ्घीय सरकारसँग समन्वय गरिनेछ ।
यस्तै, प्रदेश खेलकुद ग्रामको विकास र खेलाडी प्रोत्साहनका कार्यक्रमलाई पनि नीतिमा समेटिएको छ । सरकारले सङ्घीयताको सबलीकरण, उत्पादन वृद्धि र सुशासनलाई मूल मन्त्र मान्दै ल्याएको यो नीति तथा कार्यक्रमले नागरिकमा नयाँ आशा जगाउने दाबी गरेको छ । अब यही नीतिका आधारमा आगामी असार १ गते प्रदेश सरकारले नयाँ बजेट सार्वजनिक गर्नेछ ।