विजयपुर । धरान उपमहानगरपालिकाको सडक तथा फुटपाथमा राखेर लोकल कुखुरा बिक्री वितरण गर्न नपाइने भएको छ ।

शुक्रबार* उपमहानगरपालिकाले धरान–९ स्थित पूर्णपथ क्षेत्रमा अव्यवस्थित रूपमा बिक्री वितरण भइरहेको लोकल कुखुरा सडकबाट उठाएको थियो । उपमहानगरका बजार अनुगमन अधिकृत वेद प्रसाद सापकोटाका अनुसार पटक–पटक व्यवस्थापन गर्न ताकेता गर्दा पनि व्यवसायीले अटेर गरेपछि सडक पेटीमा राखिएका कुखुरा उठाएर उपमहानगर लगिएको थियो । अधिकृत सापकोटाका अनुसार व्यवसायीसँग सम्झौता भएपश्चात् उनीहरूका कुखुरा फिर्ता गरिएको छ ।

उनका अनुसार व्यवसायीसँग घण्टैपिच्छे सरसफाइ गर्ने, व्यवसाय दर्ता गर्ने, सडकबाट १० फिटभित्र मात्र कुखुरा राख्ने तथा एक महिनाभित्र व्यवस्थापन गर्ने सहमति भएको छ । अनुगमन अधिकृत सापकोटाले भने, “सहमतिपछि यसपटक जरिवाना नगरी छाडिएको छ ।” उनले आगामी दिनमा पुनः अव्यवस्थित रूपमा सडकमा कुखुरा बिक्री वितरण गरेको पाइए कारबाही गरिने बताए ।